आज:  | Wed, 19, Mar, 2025

पोखराबाट चीनको छेन्दुसम्म आजदेखि व्यावसायिक उडान हुने

४ चैत्र २०८१, मंगलवार ०७:५६ मा प्रकाशित ( १ दिन अघि) १८६१ पटक पढिएको
नारी बाटिका


गण्डकी -५ चैत । ।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलदेखी चीनको सिचुवान प्रान्तको छेन्दुसम्म व्यावसायिक ‘चाटर्ड’ उडान हुने भएको छ ।

यस कार्यको लागी लामो समयदेखि पोखराका जनसमुदायको माग रहेको थियो भने हालै सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट मङ्गलबारबाट सञ्चालनमा आएको हो । जुन कामका लागी दुई वर्षअघि नै पोखरा अन्तरराष्ट्रिय विमानस्थल उद्घाटन भएको थियो । तर उडान भने नियमित हुन सकेको थिएन ।

आज पहिलो पटक सिचुवान एअरलाइन्सको जहाजबाट १२६ जना यात्रुहरु चिनको छेन्दु जाँदैछन् । उडान नियमित बनाउन सिचुवान एअरलाइन्सले छेन्दुबाट तीनवटा चाटर्ड उडान गर्ने सुनिश्चित भएको छ । ‘पोखरा–छेन्दु उडानलाई नियमित गर्ने उद्देश्यका साथ सिचुवान एयरलाइन्सले चाटर्ड उडान सुरु गरेको पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटाले बताएका छन् ।

यसका साथै आजबाट सुरु हुने तीनवटा चाटर्ड उडान पछि एअरलाइन्सले अन्य नियमित उडानको योजना बनाएको छ ।’ चाटर्ड उडानका लागि एअरलाइन्सले हाल भाडादर ६२ हजार रुपैयाँ कायम गरेको छ । तीनवटा चाटर्ड उडान पछि नियमित उडानको भाडादरसहित उडान तालिका ल्याउने एअरलाइन्सले जनाएको छ ।

चीनस्थित चाईना ट्राभल्स इन्टरनेशनल छेन्दुले सुरुवाती उडानमा सहकार्य गरिरहेको बताएको छ । यो उडानले पोखरा र समग्र गण्डकी प्रदेशकै पर्यटन व्यवशायलाई थप उर्जा बनाउन पनि सहयोग पुग्ने विश्वास लिइएको एअरलाइन्सको भनाइ छ । साथै आगामी तीन महिनासम्ममा करिब एक हजार २५० चिनियाँ पर्यटक चीनको सिचुवान प्रदेशबाट सिधा पोखरा अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

यस्तै आजदेखी पहिलोपटक हुन लागेको व्यवसायिक यस चाटर्ड उडानमा पोखरा महानगरपालिका प्रमुख (मेयर)धनराज आचार्य, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछाने, पोखरा भ्रमण वर्ष २०२५ कार्य सम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी, पर्यटन व्यवसायी र सञ्चार कर्मी सहभागी हुने कार्यक्रम रहेको छ।

पहिलो व्यावसायिक उडानका क्रममा हुने सात रात आठ दिनसम्मको कार्यक्रममा विशेषतः सिचुवान प्रदेशको छेन्दु, लुझेउ, इमि, लिसन, छोङछिङ केन्द्रित रही त्यहाँका पर्यटन विकास, विस्तारका बारे जानकारी लिइने कार्यक्रम तयारी गरिएको पोखरा पर्यटन परिषद्ले जनाएको छ ।

त्यसैगरी नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाली महावाणिज्य दूतावास छेन्दुको सहकार्यमा छेन्दु र छाउछिङमा क्रमशः १९ र २२ मार्चमा नेपाल इभिङ र सेल्स मिसन गर्न लागिएको नेपाल पर्यटन बोर्ड पोखरा कार्यालयका प्रमुख मणिराज लामिछानेले जानकारी दिए ।

पोखराबाट अन्तरराष्ट्रिय उडानका रुपमा गर्न लागिएको पहिलो व्यावसायिक चाटर्ड उडानसँगै गरिने ‘सेल्स मिसन’का कार्यक्रमले पोखरासहित समग्र नेपालको पर्यटन प्रवद्र्धनमा महत्त्वपूर्ण टेवा पुग्ने पर्यटन व्यवशायीहरुले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस