आज:  | Mon, 03, Feb, 2025

सानेपामा घर भाडामा लिइ अनलाइन जुवा,३ अर्ब ४ करोडको कारोबार २४ जना पक्राउ

२१ माघ २०८१, सोमबार ०७:२० मा प्रकाशित ( ११ घण्टा अघि) १५५१ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २१ माघ ।

एक गिरोहले ललितपुरमा दुई वटा घर भाडामा लिइ अनलाइन जुवा खेलाएर ठूलो परिमाणको रकम भारत पुर्‍याउने २४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिवार राति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर उक्त गिरोहका १० भारतीय र १४ जना नेपालीलाई पक्राउ गरेको हो।

अनुसन्धान्को क्रममा अनलाइन जुवा खेलाउनेले र भारतीय बैंकमा पैसा जम्मा गराएको र त्यतैबाट निकालेको समेत तथ्य प्रहरीले सार्वजनिक गरेको छ। सो प्रकरणमा पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अजित कुमार, मुकेश मण्डल, मनोजकुमार बजाज, सुमित खत्री, प्रवातकुमार साह, ओमप्रकाश खत्री, रविप्रकाश विश्वकर्मा, रवि अभिषेक ओझा, शिवम पाण्डेय र मनोज कुमार छन्।

यिनीहरु भारतीय नागरिक उत्तर प्रदेश, उत्तराखण्ड, बिहार र मध्य प्रदेशका हुन्। यसैगरी अनलाइन जुवामा संलग्न १४ जना नेपालीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा टंकबहादुर पछाई, तेज बोगटी,लक्ष्मण विष्ट, अविनाश जिसी, हरिबहादुर जिसी, समिर खड्का, विक्रम पछाई, अशोक जिसी भीष्म वली रहेका छन्।

यस्तै, हेमन्त लोहनी गौतम, गोपाल विष्ट, सुजन जिसी, हेमन्त धामी र रविन विष्ट रहेका छन्। उनीहरू प्यूठान, डोटी र सुर्खेतका हुन्। पक्राउ परेकाहरू अधिकांश नेपाली प्यूठान भएका प्रहरीले जनाएको छ। उनीहरूले ललितपुर महानगरपालिका(२ सानेपामा दुई वटा घर भाडामा लिएर त्यहाँ कार्यालय नै खोली अनलाईन जुवा खेलाउँदै आईरहेका थिए।

उक्त गिरोहले व्यावसायिक रुप मै अनलाइन मार्फत जुवा खेल्ने,खेलाउने गरेको पाइएको अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेशकुमार बस्नेतले बताए। बस्नेतका अनुसार उनीहरूले बेटिङ एप्लिकेसनमार्फत अनलाइन जुवा खेलाउने गरेको पाइएको छ। उनीहरूले आठ वटाभन्दा बढी बेटिङ साइट प्रयोग गरेर अनलाइन जुवा खेलाउने गर्दथे।

‘ भारतीय एजेन्टसँग ह्वाट्सएपमार्फत् बेटिङ खेल्न सम्पर्क गराउने गरेको अनुसन्धानमा खुलेको छ,’ बस्नेतले भने। पक्राउ परेकाले अनलाइन । अफलाइन दुबै प्रकृतिको जुवा खेलाउँदै आएका थिए। हारजित भएको रकम भारतका विभिन्न बैंक खाताबाटै जम्मा गर्ने गरेको र झिक्ने गरेको पाइएको प्रहरीले बताएको ।

प्रारम्भिक अनुसन्धानमा पक्राउ परेकाले ३ अर्ब ४ करोड ७३ लाख ६५ हजार ६१२ रुपैयाँ बराबरको कारोबार गरेको प्रहरीले जनाएको छ। पक्राउ परेकाले प्रहरीसँगको प्रारम्भिक बयानमा विगत छ। सात महिनायता अनलाइन जुवा खेलाएको उल्लेख गरेका छन्।

अनलाइन जुवाका लागि १ लाख ६० हजार र १ लाख २० हजारमा सानेपामा उनीहरूले घर भाडामा लिएको पाइएको छ। त्यहीँ हिसाब(किताब गर्ने र नेपालीहरूलाई भने मासिक ३० हजार रुपैयाँ तलब दिएर काममा खटाएको पाइएको एसएसपी बस्नेतले बताएका छन्।

पक्राउ गरेकाहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ५ को दफा १२९ अन्तर्गत जुवा खेल्न, सट्टाबाजी गर्न नहुने र विदेशी विनिमय ऐन २०१९ अनुसार थप कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ।

पक्राउ परेकाहरूबाट ५७ थान मोबाइल, १३ थान ल्यापटप, ३४ थान एटिएम, सिमकार्य ८८ थान, चेकबुक १२ थान, भारतीय आधार कार्ड ८ थान र राहदानी ६ थान बरामद भएको प्रहरीले जनाएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस