आज:  | Wed, 05, Feb, 2025

आचरसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमहरु कालोसूचीमा

१२ पुष २०८१, शुक्रबार ०७:४८ मा प्रकाशित ( १ महिना अघि) २१७१ पटक पढिएको
नारी बाटिका


काठमाडौं- १२ पुस।

प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घन गरेको भन्दै थप दुई सञ्चार माध्यमलाई कालोसूचीमा राखेको छ। पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको,धम्क्याएको, सञ्चार माध्यमको आधारभूत चरित्र र धर्म समेत पालना नगरेकोले उक्त संन्चारमाध्यमलाई कालोसूचीमा राखी थप कारवाही गर्ने निर्णय गरेको हो।

कालोसूचीमा थपिएको दुई अनलाइन सञ्चारमाध्यमहरु दियोपोष्ट डट कम र हेर्दाहेर्दै डट कम अनलाईन मिडिया रहेको काउन्सिसलले वेवसाइट मार्फत सार्वजनिक गरेको छ। दियोपोष्टले हुँदै नभएको विषय लेखि व्यक्तिको चरित्र हत्या गरेको, समाचारका नाममा धम्कीपूर्ण व्यवहार गरेको, बार्गेनिङ गरेको भन्दै काउन्सिलले विशेष अनुगमनमा राखेको थियो।

उक्त अनलाइनविरुद्ध पछिल्ला चार महिना यता आठ वटा लिखित उजुरी परेको र त्यसमाथि काउन्सिलले पटक पटक आचारसंहिता अनुकुल काम नगर्न निर्देशन दिएको थियो। त्यसलाई अटेर गरेपछि कालोसूचीमा राखेर थप कारवाही गर्ने निर्णय गरेको हो।

साथै हेर्दाहेर्दै डट कमले स्थानीय तहको चुनावको मौन अवधिका बेला भ्रमपूर्ण समाचारलाई ब्यानर बनाएको र हटाउनका लागि पटक–पटक निर्देशन दिँदा पनि अटेर गरेको थियो। दसैँ यता मात्र काउन्सिलले यी दुईसहित विभिन्न नौ सञ्चारमाध्यमलाई आचारसंहिता उल्लंघन भएको ठहर गर्दै कालोसूचीमा राखेको हो।

आगामी दिनमा गल्ती नदोहोर्‍याउने, आचारसंहिताको पालना गर्ने भन्दै एक मिडियाले लिखित निवेदन परेपछि तीमध्ये एकको कारवाही फुकुवा भएको काउन्सिलले जनाएको छ । आचारसंहिताको पूर्ण पालना गराई स्वस्थ, मर्यादित र विश्वसनीय पत्रकारिता विकास गर्न यसअघि सर्वोच्च अदालत, उच्च अदालतसहितबाट भएका फैसला, नजिरसमेतका आधारमा काउन्सिलले मापदण्ड र कार्यविधि बनाई काम गर्दै आएको छ।

काउन्सिलले केही अनलाइन र युट्युव च्यानलले गरेका गलत काम र वेथिति रोक्न अभिमुखिकरण गराउनेदेखि आचारसंहिता अनुसार कारवाही गर्न अदालतबाट आदेश जारी भएको थियो । सोही नजिरका आधारमा काउन्सिलले कार्यविधि बनाई पछिल्लो समय सक्रियता देखाइरहेको छ ।

सद्भाव भड्काउने, अमर्यादित र अश्लील सामग्री सम्प्रेषण नगर्न काउन्सिलले विज्ञप्ति मार्फत पटक(पटक आग्रह गर्दै आएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस