आज:  | Fri, 27, Dec, 2024

पहिलो प्रतिनिधिसभाका सभामुखको निधन,आज दिउँसो अन्त्येष्टि गरिने

३ मंसिर २०८१, सोमबार ०९:१८ मा प्रकाशित ( १ महिना अघि) २७८ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३ मंसिर ।

नेपालका पहिलो प्रतिनिधिसभाका सभामुख दमननाथ ढुंगानाको निधन भएको छ । पछिल्लो समय विभिन्न स्वास्थ्य समस्याले पीडित ढुंगानाको ८३ वर्षको उमेरमा आइतबार निधन भएको हो ।

काठमाडौंस्थित फ्रन्ट लाइन अस्पतालमा उपचारका क्रममा निधन भएको थिए । नेपाली कांग्रेसका नेता तथा वरिष्ठ अधिवक्तासमेत रहनु भएका ढुंगाना २०४८ सालदेखि २०५१ सम्म सभामुखको जिम्मेवारीमा हुनुहुन्थ्यो । तत्कालीन विद्रोही माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन उहाँको महत्वपुर्ण भूमिका रहेको नेपाली राजनीतिमा चर्चा हुने गरेको छ।

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट राजनीतिमा प्रवेश गर्नु भएका उहाँ चर्चित राजनीतिकर्मी हुँदै सभामुखको आसनमा पुग्नु भएको थियो । ढुंगाना त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा विसं।२०१९ देखि २०२० सम्म स्ववियु सभापति हुनुहुन्थ्यो । तत्कालीन सभापति नवराज सुवेदीले विद्यार्थी आन्दोलनलाई साथ नदिई निर्दलीय व्यवस्था प्रवेश गरेकाले विशेष साधारण सभाबाट उहाँलाई हटाई उपसभापति रहेका ढुंगानालाई सर्वसम्मतिबाट सभापति बनाइएको थियो ।

यस्तै आम निर्वाचन २०४८ मा काठमाडौं जिल्लाबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भई सभामुख बन्नुभएको उहाँ निकट नेताहरूले बताएका छन् । दिवंगत ढुंगानाको आज सोमबार अन्त्येष्टि गरिने भएको छ । बेलायतमा रहेका छोरा फर्किन समय लाग्ने भएकाले आज दिउँसो १२ बजे पशुपति आर्यघाटमा उहाँको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

उहाँका छोरा डा.निमेष ढुंगाना म्यानचेस्टर युनिभर्सिटीमा अध्यापन गराउनुहुन्छ भने उहाँका अर्का छोरा निशेष र छोरी नीतिका नेपालमै छन् । उहाँको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि नेपाली कांग्रेस, संघीय संसद् सचिवालय र नेपाल बार एसोसिएसनमा राख्न प्रस्ताव आए पनि कतै नराखिने भएको छ । आइतबार त्रिवि शिक्षण अस्पतालमा राखिने भएकाले श्रद्धाञ्जली दिनेहरूले त्यहीँ पुगेर दिनु पर्नेछ ।

ढुंगाना नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा कलेजो रोगको उपचार गरी तिहारअघि काठमाडौं फर्कनु भएको थियो । सभामुख भएर संसद् चलाउने उहाँको तरिकाप्रति पछिल्ला सभामुखहरूले समेत सिक्नुपर्ने उहाँसँग संगत गरेका कतिपय नेताहरूले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस