आज:  | Sat, 21, Dec, 2024

आगामी तीन महिना पाँच प्रदेशमा साविकमा भन्दा बढी वर्षा हुने सम्भावना

२२ आश्विन २०८१, मंगलवार १०:०९ मा प्रकाशित ( २ महिना अघि) ६७४ पटक पढिएको
नारी बाटिका


काठमाडौं २२ असोज ।

जल तथा मौसम विज्ञान विभागलेयही असोज १५ देखि पुस १६(अक्टोबरदेखि डिसेम्बर २०२४)तिन महिनाको हावापानी आंकलन गर्दै सार्वजनिक गरेको छ।
विभागले सोमबार एक विज्ञप्ती मार्फत सार्वजनिक गरेको पुर्व अनुमान अनुसार कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशका दक्षिण–पूर्वी भू–भाग र लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने अनुमान गरेको हो।

त्यस्तै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना रहेको छ।अधिकतम तापक्रम अधिकांश भू–भागमा सरदरभन्दा बढी हुने र न्यूनतम तापक्रम पनि देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको आंकलन सार्वजनिक गरिएको विभागकी सूचना अधिकारी एवं मौसमविद् विभूति पोखरेलले जानकारी दिइन् ।

महाशाखाको पूर्वानुमान पुर्वानुमान अनुसार कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका दक्षिण–पूर्वी भाग तथा लुम्बिनी प्रदेशका पूर्वी भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जनाइएको छ। कोसी प्रदेशको उत्तरी भाग, मधेस प्रदेशको पश्चिमी भाग र वाग्मती प्रदेशको पूर्वी तथा दक्षिणी भागमा सरदरभन्दा बढी वर्षा ४५ प्रतिशतदेखि ५५ प्रतिशत हुने सम्भावना छ ।

कोसी प्रदेशको दक्षिणी भू–भाग, मधेस प्रदेशको पश्चिमी भाग, वाग्मती प्रदेशको उत्तर–पश्चिम भाग र गण्डकी प्रदेशको दक्षिण–पूर्वी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ प्रतिशतदेखि ४५ प्रतिशत रहेको जनाएको छ। यस्तै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र देशका बाँकी भागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत नै रहेको विज्ञप्तिमा उल्लेख छ ।

अधिकतम तथा न्यूनतम तापक्रम

यसैगरी देशका अधिकांश स्थानमा अधिकतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना छ । वाग्मती प्रदेशको मध्य तथा दक्षिणी भाग, मधेस प्रदेशको पश्चिमी भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भागमा अधिकतम तापक्रमा सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको जनाएको छ ।

कोसी प्रदेशका मध्य भाग, मधेस प्रदेशका पूर्वी भाग र वाग्मती प्रदेशका उत्तरी भागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ भने बाँकी भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशतसम्म अनुमान गरेको छ । त्यस्तै न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना छ । सुदूरपश्चिम, कर्णाली प्रदेशका पश्चिमी भाग र लुम्बिनी प्रदेशका पश्चिमी भागमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको जनाएको छ ।

त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका मध्य भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भाग, वाग्मती प्रदेशको अधिकांश भाग, मधेस प्रदेशका पूर्वी भाग र कोसी प्रदेशमा न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ। बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले जानकारी गराएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस