आज:  | Mon, 30, Dec, 2024

दुई मुख्य न्यायाधीश सर्वोच्चमा सिफारिस १४ न्यायाधीश सरुवाको(विवरण)सहित

१२ आश्विन २०८१, शनिबार ०७:१६ मा प्रकाशित ( ३ महिना अघि) ५०८ पटक पढिएको
नारी बाटिका


काठमाडौं– १२ असोज ।

उच्च अदालतका दुई मुख्य न्यायाधीशलाई सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरिएको छ। साथै सुक्रबारको न्याय परिषद्को निर्णयले पाटन उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र उच्च अदालत तुलसीपुरका मख्य न्यायाधीश नित्यानन्द पान्डेलाई सिफारिस गरेको हो ।

पछिल्लो समयमा सर्वोच्च अदालतमा ४ जना न्यायाधीशको दरबन्दी रिक्त रहेको छ भने अर्को साता प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पनि अवकाश पाउँदै हुनुहुन्छ । निरौला २०७७ माघ १२ गते मुख्य न्यायाधीशमा नियुक्त हुनु भएको थियो । तर पाण्डे भने गत मंसिर ६ गते मात्रै मुख्य न्यायाधीशमा नियुक्त भएका हुन् । मुख्य न्यायाधीशको वरीयतामा पाण्डे छैटौँ नम्बरमा सर्वोच्चको न्यायाधीशका लागि सिफारिस हुनु भएको हो ।

कन्चनपुर जिल्लामा जन्मिएका पान्डे २०७० सालमा न्याय सेवामा प्रवेश गर्नु भएको हो। खोटाङका निरौला भने २०५२ मंसिर २४ गते न्याय सेवामा प्रवेश गर्नु भएको थियो । २०२८ माघ २५ गते जन्मिएका निरौला सर्वोच्चको न्यायाधीश नियुक्त भएसंगै २०८१ माघ महिनासम्म जिम्मेवारीमा रहनु हुनेछ। यस्तै २०२२ फागुन १४ गते जन्मिएका पान्डे नियुक्त भएको अवस्थामा २०८७ फागुनसम्म सर्वोच्चको न्यायाधीश रहनु हुनेछ ।

यस्तै न्याय परिषद सचिवालयको बैठकले उच्च अदालतका १४ जना न्यायाधीशको सरुवा पनि गरेको छ। न्याय परिषद्ले जारी गरेको सरुवा सूची अनुसार उच्च अदालत जनकपुरको राजविराज इजलासका न्यायाधीश हरिप्रसाद भण्डारी र धीरबहादुर चन्दलाई काजमा उच्च अदालत विराटनगर अन्तर्गत ओखलढुंगा इजलासमा रहेकोमा ओखलढुंगामै सरुवा गरिएको छ।

साथै ओखलढुंगा इजलासमा रहनु भएका न्यायाधीश नातिबाबु लामिछानेलाई उच्च अदालत पोखराको बाग्लुङ इजलासमा, बुटवल इजलासका न्यायाधीश सुभाष गौतमलाई नेपालगन्ज इजलासमा, नेपालगन्जमा कार्यरत न्यायाधीश श्यामजी प्रधानलाई जुम्ला इजलासमा, बुटवल इजलासका सोमकान्त मैनालीलाई उच्च अदालत तुलसीपुर र नेपालगन्ज इजलासमा रहेकी न्यायाधीश किरणकुमारी गुप्तालाई बुटवल इजलासमा सरुवा गरिएको छ।

यसैगरी राजविराज इजलासका न्यायाधीश राधाकृष्ण उप्रेतीलाई उच्च अदालत पाटनमा, महेन्द्र नगर इजलासबाट कविप्रसाद न्यौपानेलाई उच्च अदालत पाटन, धनकुटा इजलासका न्यायाधीश सुशिल कोइरालालाई राजविराज इजलासमा, उच्च अदालत तुलसीपुरबाट अच्युतमकुमार आचार्यलाई राजविराज इजलासमा सरुवा गरिएको छ ।

साथै बुटवल इजलासका विष्णुप्रसाद अर्याललाई उच्च अदालत विराटनगर, उच्च अदालत जनकपुरका नरबहादुर खड्कालाई उच्च अदालत तुलसीपुर र ओखलढुंगा इजलासकी न्यायाधीश सरला मोक्तानलाई राजविराज इजलासमा सरुवा गरिएको हो।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस