आज:  | Sat, 21, Sep, 2024

नागढुंगा नौविसे,मलेखु,मुग्लिन सडक निर्माण कार्य तिब्र बनाउन ६ बुँदे सहमति

५ आश्विन २०८१, शनिबार १५:४८ मा प्रकाशित ( ४ घण्टा अघि) ६९ पाठक संख्या
नारी बाटिका


धादिङ ५असोज ।

नागढुंगा(नौविसे(मलेखु(मुग्लिन सडक निर्माणलाई तिब्रगति दिन ६ बुँदे सहमति भएको छ । शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भएको सर्वपक्षीय छलफलमा सो सहमति भएको हो । धादिङको पृथ्वी राजमार्गमा पर्ने सो सडक स्तरउन्नतिका लागी निकै पहिलादेखी सुरु भएको काम समयमा नहुदा यात्रुहरुले निकै सास्ती भोग्नु परेको छ ।

सो सडकको समस्या समाधानका लागी मन्त्री देवेन्द्र दाहालको पहलमा भएको छलफलमा उक्त सडक क्षेत्रका कृषि तथा पशुपन्छी मन्त्री रामनाथ अधिकारी, प्रतिनिधिसभा सदस्य राजेन्द्र पाण्डे, बागमती प्रदेशका पूर्वमुख्य मन्त्री शालिकराम जमरकट्टेल, प्रदेशका मन्त्री मधुकुमार श्रेष्ठ लगायत विभिन्न पालिकाका प्रमुख तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

त्यसैगरी उक्त छलफलमा निर्माण कम्पनीका प्रतिनिधि, कन्सल्ट्यान्ट लगायतको निष्कर्षले सडक निर्माणमा देखिएका समस्या समाधान गरी निर्माणलाई गति दिने सहमति भएको हो। साथै सहमति पत्रमा निर्माण सामाग्री उत्खनन, बिक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड बमोजिम राष्ट्रिय प्राथमिकता प्राप्त राजमार्ग निर्माण, विस्तारको लागि निर्माण व्यवसायीबाट श्रोत पहिचान गर्ने निर्णय भएको छ ।

यस्तै प्रस्ताव गरेमा पालिकाहरुबाट वा योजना पहिचानको बेलामा वातावरणीय अध्ययन प्रतिवेदनमा भएका खानीहरु योजनाको निर्माणका लागि प्रयोग गर्ने गरी आवश्यक कच्चा निर्माण सामाग्री उत्खनन गर्न सहयोग गर्ने र सो बारेमा सहजीकरणका लागि सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गर्ने उल्लेख छ।

निर्माण व्यवसायीले श्रोत उपयोग गरेको पालिकालाई नियमानुसार राजश्व तिर्नु पर्ने तर ओसारपसारमा थप वा दोहोरो कर नलिने सहमति हुनका साथै योजना कार्यान्वयनको सन्दर्भमा निर्माण व्यवसायीले स्थापना गर्नुपर्ने क्रसर प्लान्ट(अस्फल्ट प्लान्ट राख्नका लागि सम्बन्धित निकायले आवश्यक सहयोग गर्न पनि सम्बद्ध निकायले प्रतिबद्धता जनाएका छन् ।

सो कार्यका लागी सडक विभागले तत्कालै सीतापाइला,धार्के,भिमढुंगा,लामीडाँडा,गल्छी तथा गल्छी परेवाटार (त्रिशुली पारि पट्टि)भई रहेका सडकहरुको अवस्था अनुसार डाइभर्सन सडकको रुपमा प्रयोग गर्ने समेत सहमति पत्रमा उल्लेख छ । आयोजनाको टीम,योजना कार्यालय, परामर्शदाता, निर्माण व्यवसायीले सबै पक्षहरू डिजाइन कार्यान्वयन र गर्नु पर्ने सुधारका सम्वन्धमा स्थथानीय पालिकाहरुसँग नियमित सम्पर्क र समन्वय पनि गर्नु पर्ने उल्लेख छ ।

सडक निर्माण गर्दा प्रचलनमा रहेका सिंचाई र शाखा सडकहरूमा अवरोध नहुने गरी निर्माण कार्य गराउने विषय पनि सहमति पत्रमा समेटिएको छ । छलफलको सहमति अनुसार निर्माण व्यवसायीले अल्पकालीन रुपमा आगामी चाडपर्वहरुलाई लक्षित गरी असोज १७ गतेभित्र सम्पूर्ण मर्मतको काम सक्नु पर्ने सहमती पत्रमा उल्लेख छ।

त्यस्तै आर्थिक वर्ष २०८१,०८२ को लक्ष्य अनुसार काम नभए आयोजना सम्झौताका सर्त बमोजिम गर्ने भनिएको छ भने आयोजना कार्यान्वयन गर्दा धादिङको गल्छी, महादेववेशी लगायतका स्थानमा छुट भएका थप घर(टहरा(संरचनाहरुको नियमानुसार क्षतिपूर्तिका लागि तत्काल प्रक्रिया अघि बढाउने पनि सहमति पत्रमा उल्लेख गरिएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस