आज:  | Fri, 03, Jan, 2025

यात्रुबाहक बसमा पौने ३ करोडको भेप सहित ५ जना पक्राउ

८ असार २०८१, शुक्रबार १७:०० मा प्रकाशित ( ६ महिना अघि) १२६५ पटक पढिएको
नारी बाटिका


हेटौंडा ७ असार ।

इलेक्ट्रिक चुरोट (भेप) सहित जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५ जनालाई पक्राउ गरेको छ । बिहिबार वेलुकी काठमाडौंबाट हेटौंडा हुँदै भारतको दिल्लीतर्फ जान आउँदै गरेको ना.६ ख ७१६३ नम्बर यात्रुबाहक बस चेक गर्ने क्रममा बसचालक सहित ५ जनालाई प्रहरीले पक्राउ गरिएको हो ।

प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी उपरीक्षक सीताराम रिजालको कमाण्डमा खटिएको प्रहरी टोलीले हेटौैंडा उपमहानगरपालिका–११, थानाभ¥याङमा बस चेक गर्दा बसमा लुकाइ राखिएको करिब २ करोड ७१ लाख २१ हजार ७ सय ८० रुपियाँ बराबरको ५८ कार्टुन भेप फेला परेको थियो ।

उक्त बसमा रहेका भारतीय यात्रुहरुलाई ओरालेर शंकास्पद् व्यक्तिहरु बस चालक सहित ५ जनालाई नियन्त्रणमा लिएर बसको खानतलासी गर्दा यात्रु सिटमाथि सिलिङमा फल्सबटम बनाइ चोरीपैठारी गरी ल्याइएको भेप तथा भेपका फ्लेवरहरु फेला परेको हो । अहिले भेपका सामान,बससहित उनीहरुलाई नियन्त्रणमा लिई कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारा पठाइएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्ने व्यक्तिहरु बसचालक दोलखा भीमेश्वर नगरपालिका वडा–२ बस्ने वर्ष ३७ का सलाम मोक्तान, सहचालक उदयपुर कटारी नगरपालिका वडा–११ बस्ने वर्ष २७ का प्रवीन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका वडा–७ बस्ने वर्ष ३९ का इन्द्रबहादुर दर्जी,वर्ष ३० का सन्तोष भुसाल र धनकुटा बेलारा नगरपालिका वडा–१६ बस्ने वर्ष २९ का राजकुमार हिमाङ छन् । उनीहरु बिहीबार राति करिब पौने ८ बजे पक्राउ परेका हुन् ।

उल्लिखित समानहरु काठमाडौंको बालाजु बसपार्कमाथि भत्केको पुल एरियाको रमाइलो डाँडाबाट लोड गरिएको थियो । बसमा फल्ससिलिङ पहिलेदेखि नै थियो । प्रहरीका अनुसार बस काठमाडौं–दिल्ली चल्ने आधिकारिक रुटको बस नभएको बताइएको छ ।

प्रहरीको जानकारी अनुसार बस केही व्यक्तिले भाडामा लिइ एक महिनाका लागि नेपाल, भारत र अन्य देशका यात्रुलाई भारत घुमाउने भनी नेपालस्थित भारतीय दुताबासबाट असार ५ गते रोडपरमिट लिइएको थियो ।

भारत घर भई कुवेतमा बस्ने यात्रुहरुलाई त्यस बसमा विभिन्न मानिस मार्फत् सम्पर्क गरी ल्याइएको थियो । बसमा सवार यात्रुहरुलाई विश्वास दिलाउन नेपाल–भारत (दिल्ली) चल्ने बस हो भनी भिजिटिङ कार्ड दिइएको अनुसन्धानबाट खुलेको छ । एसी बस भनिए पनि बसको एसी नचल्ने अवस्थामा थियो । बसको डिक्की भने खोल्ने गरिएको थिएन । पक्राउ परेका व्यक्तिहरुमध्ये केहीले यसअघि पनि विभिन्न ब्राण्डका रक्सी, लागुऔषध बोकेर आउने गरेको खुल्न आएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%२%

प्रतिक्रिया दिनुहोस