आज:  | Sat, 04, Jan, 2025

मालपोत अधिकृत सहित ७ जना भ्रष्टाचार मुद्दामा दोषी,८ वर्षसम्म कैद निर्धारण

६ असार २०८१, बुधबार १७:३९ मा प्रकाशित ( ६ महिना अघि) ११८१ पटक पढिएको
नारी बाटिका


काठमाडौँ ५ असार ।

बुधबार विशेष अदालत पाटनले मालपोत कार्यालय पर्साका तत्कालीन अधिकृत सहित ७ जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उनीहरूलाई विशेषले जनही २ देखि ८ वर्षसम्मको जेल सजायँ निर्धारण गरेको हो।

उनीहरुलाई यसअघि जेठ १८ गते दोषी ठहर गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०८० कात्तिक २० गते दायर गरेको मुद्दामा अन्तिम निर्णय सुनाउँदै विशेष अदालतले ७ जना मालपोत अधिकृतहरूलाई भ्रष्टाचारी प्रमाणित गर्दै दोषी ठहर गरेको थियो ।

यसरी दोषी ठहर भएकाहरुमा मालपोत कार्यालय पर्साका तत्कालीन मालपोत अधिकृतहरू हरिनारायण मिश्र, भूपबहादुर बोगटी, गोपाल ढुंगाना, पदम प्रसाद अर्याल, चन्द्रबहादुर भण्डारी, किरणप्रसाद उपाध्याय र कम्प्युटर अधिकृत कुमोद भण्डारीलाई भ्रष्टाचारी ठहर गरेको थियो ।

त्यसैगरी विशेष अदालतले मालपोत अधिकृत मिश्रलाई ८ वर्ष, बोगटीलाई ८ वर्ष, ढुङ्गानालाई ४ वर्ष, अर्याललाई २ वर्ष र तिवारीलाई ८ वर्ष कैदको सजाय निर्धारण गरेको छ ।

उनीहरूलाई विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, तेजनारायण राई र रामबहादुर थापाको इजलासले दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ । राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूविरुद्ध विशेष अदालतले दोषी ठहर गर्ने क्रममा जेल सजाय जरिवाना तोकेको हो ।

भ्रष्ट्रचारको आरोपमा दोषी भएका मिश्र र बोगटीले जनही १ करोड २५ लाख ११ हजार ९९ सय ९० बिगो तिर्नुपर्ने भएको छ । त्यस्तै ढुंगानाले ३५ लाख ४५ हजार ९५०, अर्यालले १६ लाख ८१ हजार ६०० र तिवारीले १ करोड २५ लाख ११ हजार १९० रुपैयाँ बिगो तिर्नुपर्ने विशेष अदालतले तोकेको छ ।

अर्का प्रतिवादी चन्द्रप्रसाद भण्डारीलाई भने विशेष अदालतले ६ महिना कैद र बिगोको दोब्बर ४ लाख ८८ हजार ९०० जरिवाना तिर्नुपर्ने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस