आज:  | Mon, 23, Dec, 2024

आज कोशी प्रदेशमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध

६ असार २०८१, बुधबार ०७:३९ मा प्रकाशित ( ६ महिना अघि) ४४१ पटक पढिएको
नारी बाटिका


काठमाडौं ५ असार ।

गत वर्षको तुलनामा यस वर्ष अत्याधिक गर्मी बढेको थियो भने पछिल्लो समयमा वर्षा हुन थालेपछी केही राहत मिलेको छ । तर वर्षा भएसंगसंगै देशमा बाढी पहिरोको उत्तिकै जोखिम बढ्दै गईरहेको छ । हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली रही बाग्मती र गण्डकी प्रदेशमा साधारणदेखि पूर्णतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ।

अहिले विहान कोशी, बागमती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

यसैगरी बुधबार कोशी, बागमती र गण्डकी प्रदेशका केही तथा मधेस प्रदेश लगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

साथै कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आगामी २४ घण्टामा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागले जारी गरेको बुलेटिनमा कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ भने ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न तथा भारी वर्षाबाट यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस