आज:  | Wed, 05, Feb, 2025

दलालद्वारा युवायुवतीलाई प्रलोभनमा पारी १अर्ब१०करोड ठगी,व्यवस्थापनमा कमजोर हुंदा आरोपित उम्किने समस्या

३१ जेष्ठ २०८१, बिहीबार ०८:२९ मा प्रकाशित ( ७ महिना अघि) १७०४ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३१ जेठ ।

प्रलोभन देखाएर दलालले अमेरिका, युरोप लगायतका आकर्षक देशहरुमा पठाउने भन्दै देशभरका युवायुवतीलाई ठगी गर्ने गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखामा थुप्रै उजुरी परेको छ ।

वैदेशिक रोजगार विभागमा परेको उजुरी अनुसार स्टोनिया, पोर्चुगल, सर्बिया, क्यानडा, माल्दिभ्स, न्युजिल्यान्ड, अस्ट्रेलिया, जापान, अमेरिका, क्रोसिया, कम्बोडिया, टर्की, अल्बानिया, रसिया, अजरबैजान मुलुक लगायतका देश पठाइदिने भन्दै झुटो जहना बनाय।र दलालले गएको साउनदेखि यही जेठसम्ममा ६२ करोड ५८ लाख ४ हजार ७ सय ६४ रुपियाँ ठगी गरेको उजुरी परेको हो ।

यसैगरी विभागले विगत १० महिनामा ३ सय ३९ जनालाई ठगीको आरोपमा पक्राउ समेत गरिसकेको छ । विभागमा मात्रै ठगीका ८ सय २३ उजुरी परेको छ । प्रत्येक महिनामा आएको उजुरीको तथ्याङक अनुसार साउनमा ८९, भदौमा ४६, असोजमा २२, कार्तिकमा २६, मंसिरमा ६०, पुसमा ९४, माघमा ८४, फागुनमा १२७, चैतमा १२६, वैशाखमा १०६ र जेठमा ४३ वटा वैदेशिक रौजगारीमा राम्रो देशमा लैजाने भन्दै ठगी मुद्दा परेको हो।

यसैगरी काठमाडौं उपत्यका अपराध अनुसन्धान महाशाखामा ४७ करोड ७३ लाख ४८ हजार ३ सय ६० रुपियाँ ठगी गरेको उजुरी परेको छ । महाशाखामा मलेसिया, कतार, दुबई, साउदी अरब, कुवेत लगायतका मुलुक पठाउने भन्दै ठगी गरेको उजुरी परेको महाशाखाका डीएसपी गोविन्द पन्थीले जानकारी दिनु भयो ।

प्रहरीको अनुसार हालसम्म विभाग र महाशाखामा परेका उजुरीको आधारमा २ हजार ६ सयभन्दा बढी व्यक्ति पीडित भएको जनाएको छ । प्रहरीले अहिलेसम्म ६ करोड १५ लाख ४७ हजार ८ सय ५० रुपियाँ बिगो असुल गर्न सफल भएको जनाएको छ । यस्ता अपराधमा संलग्न रहेका ४ सय ३७ जनामाथि अनुसन्धान पनि अघि बढाएको छ ।

गएको साउनदेखि जेठसम्म महाशाखामा ४ सय ७४ वटा उजुरी परेका छन् भने प्रहरीले अहिले ८९ जनालाई पक्राउ गरी उनीहरूबाट पीडित भएकाहरूलाई बिगो फिर्ता गराउन सफल भएको डिएपी पन्थीले जानकारी दिनु भयो। महाशाखामा साउनमा ७२,भदौमा ४६, असोजमा २२, कार्तिकमा ८, मंसिरमा ५५, पुसमा ५७, वैशाखमा ५१, जेठमा २२ वटा उजुरी परेको महाशाखाको तथ्यांकबाट देखिएको छ।

आकर्षक गन्तव्य मुलुक पठाइदिने भन्दै दलाललहरूले एकै व्यक्तिबाट ८० लाखसम्म लिएको पाइएको छ। अमेरिका र युरोप जानका लागि नेपालीहरू जति पनि पैसा खर्च गर्न तयार हुने भएकाले दलालहरूले अनेक वहाना बनाई ठगी गरेको देखिएको महाशाखाको वैदेशिक रोजगार ठगी सम्बन्धी प्रमुख रूपमा कार्यरत डीएसपी पन्थी बताउनु भयो।

सरकारले वैदेशिक रोजगार ठगीसम्बन्धी अनुसन्धान र कारबाही गर्ने अधिकार वैदेशिक रोजगार विभागलाई दिएको भए पनि दक्ष जनशक्तिको अभावका साथै पक्राउ गर्ने प्रहरी आफ्नो मातहतमा नभएकोले पीडितहरूले समयमा नै न्याय पाउन नसकेको अवस्था देखिएको छ ।

विभागले पनि पक्राउ तथा अनुसन्धानका लागि प्रहरीलाई नै गुहार्नु पर्ने अवस्था रहने र यस्ता घटनामा खटिजाने प्रहरीलाई जनशक्ति परिचालन गर्न सरकारले छुट्टै बजेटको व्यवस्था नगरेको कारण प्रहरीले पनि तोकिएकै समयमा खट्न सक्ने अवस्था देखिदैन । यस समस्याका कारण दलाली आरोपितहरू मौका छोपेर उम्कने गरेको प्रहरी स्रोतले बताएको छ ।

सरकारले वैदेशिक ठगीसम्बन्धी अनुसन्धान तथा कारबाहीको जिम्मेवारी विभागलाई दिएको भए पनि विभागको देशभर आफ्नो संरचना नभएका कारण पीडकलाई पक्राउ गर्न अन्य निकायको सहयोग लिनुपर्ने अवस्था रहेकाले दलालहरू सहजै भाग्न वा लुक्न सफल हुने गरेको ती अधिकृतले बताए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस