आज:  | Thu, 19, Sep, 2024

पूर्व राजपरिवारका सदस्यहरु जग्गा फुकुवाको माग गर्दै संसदीय समितिमा

१२ पुष २०८०, बिहीबार ०८:३२ मा प्रकाशित ( ८ महिना अघि) ३४४ पाठक संख्या
नारी बाटिका


काठमाडौं १२ पुस ।

पूर्व राजपरिवारका सदस्यहस् जग्गा फुकुवाको माग गर्दै संसदीय समितिमा गएका छन् । देशमा ब्यवस्था परिवर्तन भए संगसंगै नेपाल सरकारका भूमिसुधार कार्यालयले रोक्का राखेको जग्गा फुकुवाका लागि निर्देशन माग गर्दै पूर्वराजपरिवारका सदस्य संसदीय समितिमा पुगेका हुन्। पूर्वराजा ज्ञानेन्द्र शाहका भाइ धीरेन्द्रका तीन छोरीले प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उजुरी दिएका छन् ।

हिजो बिहीबारको गोरखापत्र दैनिकमा प्रकाशित समाचार अनुसार यही पुस ८ गते उजुरी दर्ता भएको छ । तर उक्त विषयले भने संसदीय समितिमा छलफलको लागी लगिएको छैन । भूमिसुधार राज्य व्यवस्थाको क्षेत्राधिकार भने होइन । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा भूमिसुधारको क्षेत्र तोकिएको छ । धीरेन्द्रका श्रीमती प्रेक्षा राज्यलक्ष्मी शाहको नाममा रहेको हदबन्दी भन्दा बढी राखेको भन्दै भूमिसुधार कार्यालय काठमाडौंले रोक्का गरेको थियो ।

धीरेन्द्रका छोरीहरूले यसबारे छलफल र निर्देशनको माग गर्दै संसदीय समितिमा उजुरी गरेका हुन्। हदबन्दीको व्यवस्था आफूहरूलाई नलाग्ने उनीहरूले उजुरीमा जिकिर गरेका छन् । कानुन विपरीत आफ्नो सम्पत्ती हदबन्दीका नाममा जग्गा रोक्का राखेर आफूहरू माथि राज्यले अन्याय गरेको उजुरीमा उल्लेख गरिएको छ।

धीरेन्द्र शाहका तिन छोरीहरू दिलाशा, पूजा र शीताष्मा शाहका तर्फबाट उजुरी दर्ता भएको हो । उजुरीमा संविधान प्रदत्त सम्पत्तिको हकको रक्षाका लागि आवश्यक निर्देश गरिदिन माग गरिएको छ । भूमिसुधार कार्यालयले २०६५ वैशाख २८ गते नै काठमाडौँ महानगरपालिका–३ को कित्ता नम्बर ३१ को ३५ रोपनी जग्गा रोक्का राख्न पत्राचार गरेको थियो । संशोधित कानुन अनुसार हदबन्दी भन्दा बढी जग्गा भएकाले रोक्काको लागी पत्रचार भएको थियो।

उक्त उजुरीमा उल्लेख भए अनुसार २०६४ चैत १९ गते उक्त घर जग्गा तीनै जनाको नाममा रहने गरी नामसारी भइसकेको छ। २०५८ कात्तिक २७ गते मृत्यु भएकी प्रेक्षा राज्यलक्ष्मी शाहको नाममा रहेको उक्त घरजग्गा छोरीहरूका नाममा हक हस्तान्तरण र नामसारी भएको थियो ।

तर मालपोत कार्यालय डिल्लीबजारको निर्णयले २०६४ चैतमा जग्गाधनी पुर्जा प्राप्त गरेपछि २०६५ वैशाख ६ गते भूमिसुधारले रोक्का राखेको उजुरीमा उल्लेख छ। जग्गा फुकुवाका लागि सतर्कता केन्द्र, मालपोत कार्यालयमा पटक पटक निवेदन दिँदा पनि पुर्व राजपरिवारका सदस्यहरु माथी परेको अन्यायको सुनुवाइ नभएको बेहोरा उजुरीमा उल्लेख गरिएको छ।

स्रोत : गोरखापत्र दैनिकमा प्रकाशित समाचार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%२%१%

प्रतिक्रिया दिनुहोस