आज:  | Sun, 22, Dec, 2024

नयाँ हुने राष्ट्रपति निर्वाचनको मतपत्रमा उम्मेदवारको फोटो समेत राखिने

२४ फाल्गुन २०७९, बुधबार २०:०२ मा प्रकाशित ( १ साल अघि) ६९० पटक पढिएको
नारी बाटिका


काठमाडौँ , फागुन २४

नयाँ हुने राष्ट्रपति निर्वाचनको मतपत्रमा उम्मेदवारको फोटो राखिने ब्यवस्था गरिएको छ । यस भन्दा पहिलेको निर्वाचनको मतपत्रमा उम्मेदवारको नाम मात्रै हुने ब्यवस्था थियो । राष्ट्रपति निर्वाचनका लागी संघ र प्रदेशका सांसदले बिहीबार बिहान १० देखि ३ बजेसम्म मतदान गर्ने छन् ।

यस पटकदेखी राष्ट्रपति निर्वाचनमा उम्मेदवारको फोटो सहितको मतपत्र प्रयोग हुने भएको हो । निर्वाचन आयोगले यसअघि मतपत्रमा उम्मेदवारको नाम मात्रै राख्ने गरेको थियो । यस पटक उम्मेदवारको नाम र फोटो सहितको मतपत्र छपाएर निर्वाचन अधिकृतको कार्यालयमा पठाइसकेको आयोगका प्रवक्ता शालिग्राम पौडेलले जानकारी दिनु भएको छ  ।

बिहीबार हुने राष्ट्रपति निर्वाचनमा आठदलीय गठबन्धनबाट कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेल र एमालेबाट उपाध्यक्ष एवं पूर्व सभामुख सुवासचन्द्र नेम्वाङ उम्मेदवार रहनु भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल फागुन २८ मा सकिने भएकाले निर्वाचन गर्न लागिएको हो ।

संघीय संसद्का ३ सय ३१ र प्रदेश सभाका ५ सय ५० सांसद गरी ८ सय ८१ जनाले राष्ट्रपति निर्वाचनमा मत दिनेछन् । संघीय संसद्का सदस्यको मतभार ७९ र प्रदेश सभा सदस्यको मतभार ४८ हुन्छ । यसै आधारमा सबै संघीय सांसदको मतभार २६ हजार १ सय ४९ र प्रदेश सांसदको मतभार २६ हजार ४ सय गरी कुल मतभार ५२ हजार ५ सय ४९ हुनेछ ।

राष्ट्रपतिमा निर्वाचित हुनको लागी २६ हजार २ सय ७५ मतभार ल्याउनु पर्दछ। संघीय संसद्का ३ सय ३४ मतदाता मध्ये मनाङका कांग्रेस सांसद टेक बहादुर गुरुङ भ्रष्टाचार मुद्दामा निलम्बनमा परेका छन् । चितवन निर्वाचन क्षेत्र २ मा रिक्त रहेको छ । जनता समाजवादी पार्टीका समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ मा मृत्यु भएको थियो । सुरक्षाकर्मी हत्याको मुद्दामा एमालेका सांसद लक्ष्मी महतो कोइरी भने फरार रहेका छन् ।

निर्वाचन अधिकृत कार्यालयकी सूचना अधिकारी अमृता भण्डारीले बिहीबार हुने निर्वाचनमा संघीय संसद् र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र निर्धारण गरिएको जानकारी दिनु भएको छ । एउटा मतदान केन्द्रमा ७ कर्मचारी खटिने छन् । मतदान भोली बिहीबार बिहान १० देखि ३ बजेसम्म बानेश्वरस्थित संसद् भवनमा हुदै छ ।

संघीय र प्रदेश सांसदका लागि फरक रङको ९ सय ९० मतपत्र छापिएको आयोगका प्रवक्ता पौडेलले जानकारी गराउनु भएको छ । उहाँका अनुसार राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका लागि छापिएको मतपत्रमा सेतो पृष्ठभूमिमा गुलाबी रङको अक्षर रहेको छ । त्यस्तै प्रदेशसभा सदस्यले मतदान गर्ने मतपत्रमा सेतो पृष्ठभूमिमा हरियो रङको अक्षर रहेको छ ।

मतपत्रको पहिलो कोठामा सत्ता गठबन्धनका उम्मेदवार रामचन्द्र पौडेल र दोस्रो कोठामा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङको फोटो छापिएको छ । स्थानिय तहमा सर्वसाधारणले गर्ने मत मात्रै बदर हुने नभएर नागरिकले चुनेर पठाएका नेता संघीय र प्रदेश सांसदहरुले दिएका मत पनि विगतमा बदर हने समस्या कम गर्न यसपालि फोटो समेत राखिएको प्रवक्ता पौडेलको भनाई रहेको छ ।

मतदान सकिने वित्तिकै मत गणना कार्य थालिने आयोगको तयारी छ । ‘बेलुका ७ बजेसम्म परिणाम आइसक्छ,’ प्रवक्ता पौडेलले भन्नु भएको छ . आयोगले राष्ट्रपति निर्वाचनका लागि तोकेको मौन अवधि सोमबार राति नै सुरु भइसकेको छ । यस अवधिमा प्रचार प्रसार गर्न पाइँदैन । राष्ट्रपति र उपराष्ट्रपति पदका उम्मेदवारले निर्वाचन प्रयोजनका लागि चार लाख रुपैयाँ सम्म खर्च गर्न पाउने व्यवस्था छ  ।

उपराष्ट्रपति पदको निर्वाचन प्रक्रिया फागुन २७ मा सुरु हुने आयोगले जनाएको छ । निर्वाचन भने चैत ३ मा हुने भएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस