आज:  | Sat, 23, Nov, 2024

राष्ट्रिय युवा परिषदद्वारा धादिङका ७ सय म्यादी प्रहरीलाई उद्यमशीलता तालिम

६ बैशाख २०७९, मंगलवार १०:३८ मा प्रकाशित ( २ साल अघि) ४१४ पाठक संख्या
नारी बाटिका


धादिङ – राष्ट्रिय युवा परिषदले स्थानीय निर्वाचन प्रयोजनका लागि छनौट भएका धादिङका ७ सय जना म्यादी प्रहरीलाई उद्यमशीलता तालिम दिएको छ । स्थानीय निर्वाचनमा सरकारको सुरक्षा योजनालाई थप प्रभावकारी वनाउन छनौट भएका म्यादी प्रहरी ४० दिनपछि विदा हुने र त्यसपश्चात् उनीहरु पुनःवेरोजगार बन्नेछन् ।

निर्वाचन सकिए लगत्तै वेरोजगार बन्न जाने युवा म्यादी प्रहरीलाई आफ्नै देशभित्र स्वरोजगार बन्न प्रेरित गर्नको निम्ति आफुहरुले उद्यमशीलता तालिम दिएको राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताउनुभयो । परिषदले भक्तपुर र धादिङका १२५० जना म्यादी प्रहरीलाई सहुलियतपूर्ण कर्जा सहजीकरण , वित्तीय साक्षरता र उद्यम तालिम दिएको जनाएको छ ।

तालिमको दौरानमा नेपाल सरकारद्वारा जारी गरिएको ’सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्वन्धि एकीकृत कार्यविधि –२०७५’ मा केन्द्रित रहेर तालिम दिइएको परिषदका प्रशासकीय प्रमुख रमाकान्त शर्माले बताउनुभयो । तालिमबाट स्वदेश भित्रै स्वरोजगार बन्न म्यादी प्रहरीका सहभागीहरू निकै उत्साहित भएको शर्माले बताउनुभयो ।

धादिङमा विभिन्न समुह बनाएर ७०० जना म्यादी प्रहरीलाई तालिम दिइएको परिषदका तालिम शाखा प्रमुख दिनेश घिमिरेले जानकारी दिनुभयो । साथै उक्त कार्यक्रममा जिल्ला प्रशासन कार्यालय धादिङका प्रमुख कृष्णप्रसाद लम्सालको समेत सहभागिता रहेको थियो ।

फाईल तस्बिर

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस