आज:  | Thu, 17, Apr, 2025

सरकारले फेरी आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

२५ चैत्र २०८१, मंगलवार १८:२० मा प्रकाशित ( १ हफ्ता अघि) १६७५ पटक पढिएको
नारी बाटिका


काठमाडौं २६ चैत।

शिक्षक कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारीको माग गर्दै आन्दोलनरत शिक्षकहरूलाई सरकारले फेरी वार्ताको लागी आह्वान गरेको छ ।

शिक्षा मन्त्रालयले मंगलबार विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० प्रतिनिधिसभामा पेश भइसकेको भन्दै सरकारले फेरि वार्तामा आउन आन्दोलनरत शिक्षकहरूलाई अनुरोध गरेको हो ।

यसअघि पनि सरकारले चैत २१ र २२ गते पनि सरकारले छलफल र परामर्शका लागि वार्तामा बोलाएको थियो । तर आन्दोलनरत शिक्षकले सरकारको प्रस्तावलाई अस्वीकार गरेका थिए । शिक्षकले यसअघि पनि सरकारले पटक(पटक भएका सम्झौता लागू नभएकाले यसपटक वार्तामा मात्रै नबस्ने जवाफ दिएका थिए ।

वार्ताका लागी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा शिक्षकहरूलाई २७ चैत २०८१ को बिहान ११ बजे मन्त्रालयमा उपस्थित हुन अनुरोध गरिएको छ । वार्ता, संवाद र छलफलमार्फत समस्याको समाधान खोज्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै वार्ताका लागि पुनः अनुरोध गरेको छ।

मुलुकभरका शिक्षकले सोमबारबाट आम शैक्षिक हडताल समेत घोषणा गरेका छन् भने अहिले शिक्षकले काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् , सरकारले वार्ताबाट शिक्षकका माग र समस्या समाधान गर्न अपिल गर्दै आएको छ । तर उनीहरुले शिक्षा ऐन जारी भए मात्र आन्दोलन रोकिने जवाफ दिँदै आएका छन् । शिक्षकको निरनतरको शैक्षिक हडतालका कारण विद्यालय शिक्षा प्रभावित भइरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस