आज:  | Mon, 17, Mar, 2025

आइतबारदेखि औद्योगिक क्षेत्रमा ४ घण्टा थपिएर दैनिक १२ घण्टा लोडसेडिङ हुने

२ चैत्र २०८१, आईतवार ०७:१२ मा प्रकाशित ( १ दिन अघि) १३९६ पटक पढिएको
नारी बाटिका


काठमाडौं ३ चैत ।

आज(आइतबार)देखि औद्योगिक क्षेत्रमा १२ घण्टा लोडसेडिङ हुने भएको छ ।

भारतबाट विद्युत् आपूर्ति कटौती हुँदा लोडसेडिङ हुने भएको विद्युत् प्राधिकरणले जनाएको छ । विगतदेखी भारतबाट दैनिक रुपमा २० घण्टा विद्युत् आपूर्ति हुँदै आएकोमा आजदेखि १२ घण्टा अर्थात् बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै विद्युत् आयात हुने भएको हो ।

भारतबाट दैनिक ७ सय मेगावाटसम्म विद्युत् आयात हुँदै आएको थियो । तर अब करिब साढे ५ सय मेगावाट मात्र आयात हुने भएकोले नेपालमा लोडसेडिङको समय थपिएको हो। हाल साँझको बेला विद्युत्को उच्च माग करिब १९ सय मेगावाट रहेको भएतापनि नेपालको आन्तरिक उत्पादनबाट करिब १ हजार मेगावाट विद्युत् आपूर्ति हुँदै आएको छ ।

यसअघि पनि भारतबाट ७ सय मेगावाट आयात गर्दा पनि २ सय मेगावाटको विद्युत् अभाव हुँदै आएको थियो । विद्युत् आपूर्ति कम हुँदा औद्योगिक क्षेत्रमा लोडसेडिङ गर्ने नेपाल विद्युत् प्राधिकरणको तयारी छ । हाल औद्योगिक क्षेत्रमा आठ घण्टासम्म विद्युत् कटौती हुँदै आएकोमा आजदेखि दैनिक १२ घण्टा विद्युत् कटौती हुने भएको छ ।

औद्योगिक क्षेत्रमा विद्युत् कटौती भए पनि घरायसी ग्राहकलाई भने लोडसेडिङ नहुने प्राधिकरणको भनाई छ । नेपालले भारतको खुला बजार इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)बाट विद्युत् आयात गर्ने गरेको छ । एक दिनअघि (डे–अहेड) र सोही दिन (रियल टाइम)मा कायम रहेको दरमा नेपालले विद्युत् आयात गर्ने गरेको थियो ।

२०७८ सालमा भारतीय खुला बजारबाट विद्युत् आयात गर्न नेपालले हरेक वर्ष नवीकरण गर्नुपर्ने सर्तमा अनुमति पाएको थियो । गत वर्ष भारतले चुनाव आइरहेको भन्दै तीन महिनाका लागि मात्रै विद्युत् निर्यात सम्बन्धी सम्झौता नवीकरण गरेको थियो । उक्त नवीकरणको म्याद जुन महिनामा सकिएपछी भारतले नोभेम्बरमा नवीकरण गरेको थियो ।

साथै भारतले सम्झौता नवीकरण गर्दा १५ मार्चसम्म दैनिक २० घण्टा नेपालमा विद्युत् निर्यात गर्न दिने र त्यसपछि ३० जुनसम्म सोलर आवर बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म मात्रै विद्युत् दिने सम्झौता गरेको भएको । गत फेब्रुअरीमा नेपाल र भारतबीच प्रोजेक्ट स्टेयअरिङ कमिटी (पीईसी)को बैठकमा नेपालले चाहेका बेला आयात गर्दा तिर्नु पर्ने नयाँ दर रेट तोकेको छ ।

यसैगरी निर्यातमा पनि उक्त दर लागू हुने जनाइएको छ । बैठकले मार्चसम्मका लागि तय गरिएको दरमा १ दशमलव ५ प्रतिशत मात्र वृद्धि हुने व्यवस्था गरिएको छ । सोही बमोजिम सहमति गरेको भन्दै सरकारको ऊर्जा मन्त्रालयले प्राधिकरणका कार्यकारी निर्देशक कुलमा घिसिङलाई स्पष्टीकरण सोधेको हो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस