आज:  | Mon, 03, Feb, 2025

आज वसन्त पञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

२१ माघ २०८१, सोमबार ०७:४० मा प्रकाशित ( ८ घण्टा अघि) ६३ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २१ माघ ।

प्रत्येक वर्ष माघ शुक्ल पञ्चमी अर्थात श्रीपञ्चमीका नामबाट मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित निजी तथा सामुदायिक विद्यालयहरुमा वसन्त श्रवण गरेर मनाइँदै छ।

वसन्त पञ्चमी कै अवसरमा आज बिहान नासल चोकमा वसन्त श्रवण गरिँदैछ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको साइत अनुसार अहिले बिहान ७ बजेर ५५ मिनेटमा हनुमानढोकाको नासलचोकमा वसन्त श्रवणको कार्यक्रम राखिएको छ। आज आयोजना हुने वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जानकारी दिए।

यसै गरी कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्य लगायतको उपस्थिति रहने कार्यक्रम छ।

हरेक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभरका विद्यालय तथा घर,सरस्वती मन्दिरमा निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँछ। चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजन विशेषगरी विद्यार्थीहरूले पुजाआरधना गरी मनाउँने गर्दछन् ।

सरस्वती मातालाई भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्ने गर्दर्छन्। विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्दछन् । सरस्वतीलाई तान्त्रिकहरूले पनि तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्दछन् ।

आजबाट सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ ।

आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ । यस्तै विधिवत रुपमा आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह (इही) जस्ता धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस