आज:  | Thu, 23, Jan, 2025

सीआईबीको प्रहरी हुँ भन्दै ठगी गर्ने नुवाकोटका एक युवक पक्राउ

९ माघ २०८१, बुधबार १९:१० मा प्रकाशित ( १ दिन अघि) ११४८ पटक पढिएको
नारी बाटिका


काठमाडौं ९ माघ ।

सीआईबीको प्रहरीदेखि भन्सारको ऐजेन्टसम्मको नक्कली परिचय देखाई ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको ककनी गाउँपालिका– २ का ३५ वर्षीय कुशल ठकुरी भनिने दिनेश घिमिरे रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई मंगलबार राति १० बजे ठमेलबाट पक्राउ गरेको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को समेत नक्कली परिचयपत्र बनाई उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा आएका सुन,आइफोन छुटाउनेदेखि भन्सारले लिलाम गर्न लागेका स्कर्पियो, क्रेटा गाडीहरू समेत सस्तोमा मिलाइदिने भन्दै ठगी गरेको खुलेको छ ।

विदेशबाट आउनेदेखी व्यपारीहरुलाई विश्वासमा पारेपछि उनले आफ्नो बैंक खातामा रकम हाल्न लगाएर एक करोड रुपैयाँ बढी ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

यसरी फरक शैलीमा ठगी गर्न थालेपछी उनीविरुद्ध ११ वटा उजुरीसमेत परेको थियो । ठगीको उजुरी परेपछि २० असोजमा उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको थियो ।

यसअघि पनि बैंकिङ कसुर गरी उनीविरुद्ध ९ वटा मुद्दा दर्ता भएको पाइएको प्रहरीले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा लगिएको प्रहरीले जनाएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस