धादिङ- १ माघ ।
आज मुलुकभर सबै समुदायले माघे सङ्क्रान्ति विभिन्न परिकार खाएर यस पर्व मनाउँदै छन्। आजबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति पनि भनिन्छ।
यससंगै आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन्। उत्तरायण आजैबाट सुरु हुने भएकाले आजको दिनमा स्नान, जप, तप,ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ। साथै आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका तिर्थमा स्थानमा माघे स्नान गर्ने भक्तजनको घुइँचो लागदछ।
नेपालको भौगोलिकता संगसंगै चाडपर्व पनि विशेष तरिकाले मनाईने गरिन्छ । तराईवासीले आजको दिन अर्थात माघ १ लाई नहान तथा नुहाउने पर्वका रूपमा मनाउँछन्। साथै आज अनिवार्य रुपमा तराईवासीले नुहाउनुपर्ने मान्यता राख्छन्। तिर्थको जलबाट स्नान गर्न शुद्ध होईन्छ भन्ने मान्यताका साथ बिहानै आफुलाई पायक पर्ने तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ।
धर्मशाश्रमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनु हुन्छ ।
आजैदेखी उत्तरायण भएसंगै शुभकर्म गर्न उत्तम मानिन्छ। आज स्नान, दान, व्रत, ध्यान गर्ने व्यक्तिले पुण्य प्राप्त गरी मनोकामना पूर्ण हुने विश्वास छ। माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, तरुल, पालुङ्गो, खिचडी आदि खाने प्रचलन छ। यस्ता परिकारहरु खाँदा जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने पर्वमा ताता परिकार खाने गरिएको हो।
यस्तै यी खानाले त्रिदोष पनि नाश हुने आयुर्वेदका चिकित्सकहरु बताउँछन् । तरुल पुसको अन्तिम दिनमा पकाएर राखी भोलिपल्ट माघे सङ्क्रान्तिमा खाने प्रचलन छ। यसलाई ‘पुसमा पाके, माघमा खाके’ भन्ने गरिन्छ। आजका दिन घाममा बसेर शरीरमा तिलको तेलले मालिस गर्दा दुषित पदार्थ बाहिर निस्कन्छ भन्ने विश्वास गरिन्छ। शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेलले मालिस गर्दा सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ।
मानिसको मृत्य हुंदा पनि सूर्य उत्तरायण भएपछिको मृत्युलाई उत्तम मानिन्छ। महाभारत युद्धमा मृत्यु श्ययामा पुगेका भीष्मले इच्छा मृत्युको वरदान पाएपछी सूर्य उत्तरायण भएपछी उनले शरीर त्यागेका थिए। आजका दिन भक्तपुरको तिलमाधव नारायण स्थानमा पनि भक्तजनको भिड लाग्ने गर्दछ।
माघ महीनामा माघमाहात्म्यको पनि ठूलो महत्व छ। स्कन्द पुराणको माघ माहात्म्य अनुसार केदारखण्डको कुमार र अगस्त्य मुनबीच भएको संवाद अर्थात् स्वस्थानी सुन्ने सुनाउने क्रम पौष शुक्ल पूर्णिमादेखि सुरु हुन्छ। यो क्रम माघ शुक्ल पूर्णिमा अर्थात (एक महिना)सम्म जारी रहन्छ ।
यस वर्ष पौष शुक्ल पूर्णिमा शोमबार पुस २९ गतेदेखि श्री स्वस्थानी व्रतकथा सुरु भइसकेको छ। यो व्रत गर्नेले चान्द्रमास अनुसार माघ महिनाभर स्नान गरी नित्य मध्याह्नकालमा श्रीमहादेवको पूजा आराधना गर्छन्।
साथै माधवनारायणको पनि पौषशुल्क पुर्णिमाका दिनदेखी ब्रत,पुजा आरधना सुरु नुने भएकोले नेपाली सनातन धर्मावलम्बीहरुले सोमबारदेखी एक महिने श्रीस्वस्थानी व्रत शुरु गरिएको छ । यसै अवधिमा शालिनदीमा स्नान गरी माधवनारायनको दर्शन गरेमा शुभ फल मिल्ने धार्मिक विस्वास गरिन्छ । सोही कारणले पनि माघ महिनालाई शुभ महिनाको रुपमा लिइन्छ।
थारु समुदायमा भने आजकै दिन सबै मिलेर गाउँका मुखिया छनोट गर्ने चलन छ। यस पर्वका अवसरमा महतो, गुरुबा, पुजारी, धामी, झाँक्री, चौकीदार, कमैया, हली, गोठालो, घरायसी काम गर्ने सबै पदवीको लोकतान्त्रिक विधिबाट निर्वाचन हुन्छ।
प्रतिक्रिया दिनुहोस