आज:  | Tue, 14, Jan, 2025

श्रीस्वस्थानी व्रत विधि सुरु हने पौष शुक्ल पूर्णिमा तथा माधवनारायण ब्रत

२९ पुष २०८१, सोमबार ०७:२४ मा प्रकाशित ( १ दिन अघि) १९५४ पटक पढिएको
नारी बाटिका


धादिङ – २९ पुस ।

आजबाट श्रीस्वस्थानी व्रत विधि सुरु हने पौष शुक्ल पूर्णिमा हो । साथै आजैबाट माधवनारायणको पनि ब्रत प्रारम्भ हुंदैछ । नेपाली सनातन धर्मावलम्बीहरुले सोमबारदेखी एक महिने श्रीस्वस्थानी व्रत शुरु गर्दैछन्। नेपाली पात्रो अनुसार पञ्चाङ्गमा ५२ घडी ३४ पला अर्थात् मंगलबार बिहान ४ बजेसम्म पूर्णिमा रहेको उल्लेख गरिएको छ।

हिन्दुधर्मालम्विहरुले हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म (एक महिना)सम्म श्री स्वस्थानी परमेश्वरीको व्रत लिने परम्परा छ। विधिपूर्वक व्रत बस्ने ब्रतालुले दिनहुँ स्नान गरी मध्याह्न कालमा श्रीमहादेव र श्री स्वस्थानी परमेश्वरीको पूजा आराधना गर्ने गर्छन् र उनको माहत्म्य सुन्छन् र सुनाउछन्।

एक महिनासम्म बसिएको व्रतको अन्तिम तथा माघशुक्ल पूर्णिमाका दिन विशेष पूजा आराधना गरी अक्षता, फलफूल नैवेद्य, जनै, पान र सुपारीलगायत १०८ को संख्यामा चढाउने परम्परा छ। यसरी विधिपूर्वक व्रत गर्नाले चिताएको मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ।

यस ब्रतको अवधिमा पाशुपती क्षेत्रस्थित गुह्येश्वरी, गौरीघाट र किरातेश्वर महादेवका मन्दिर व्रतालुको मुख्य गन्तव्य हो। यस्तै गोकर्ण र साँखुस्थित शालीनदीलगायत स्थानमा गई व्रतालुको पुजा आरधना र स्नान गर्न घुइँचो लाग्छ। यी तीर्थस्थलको महिमा स्वस्थानी व्रतकथामा समेटिएको हुंदा यस ब्रतको अवधिमा शाली नदीको स्नान गर्नु महत्व रहेको पाईन्छ।

विधिपूर्वक व्रत नबस्नेले पनि बिहान वा साँझमा दुई छाक खाना खाएरै पनि श्रीस्वस्थानीको व्रतकथा वाचन तथा श्रवण गर्न मिल्ने कथा तथा पुराणहरुमा उल्लेख छ। श्री स्वस्थानी माताको महिमा भएको ३१ अध्यायको श्रीस्वस्थानी ब्रत कथा नेपाली भाषामा सर्वसुलभ रुपमा पाईन्छ।

पहिले पुराणबाट नेवारी भाषामा रचिएको श्रीस्वस्थानी कथा थियो । तर केही कालपछि सबै नेपालीले नेवारी भाषा नजान्ने र नबुझ्ने भएकाले यसलाई नेपाली भाषामा अनुवाद गरिएको हो ।

देवी पार्वतीले भगवान् विष्णुको उपदेशमा श्रीस्वस्थानी व्रत बसेर महादेव पति पाएको भन्ने उल्लेख छ। गोमा र चन्द्रावतीलगायतले श्रीस्वस्थानी माताकै व्रत गरेर आफ्नो जिवनकालमा पाएको दुलो दुख र कष्ट नास भई इच्छा अनुसारको वरदान पाएको भन्ने स्वस्थानी ब्रत कथामा उल्लेख भएको छ।

देशको राजधानीदेखी उत्तर पूर्वी भेगमा पर्ने १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदी र भक्तपुरको हनुमानघाटमा एकमहिने माधवनारायणको मेला पनि पौष शुक्ल पूर्णिमामै अर्थात आजैबाट आरम्भ हुन्छ। साथै माघ शुल्क पूर्णिमाका दिन श्रीस्वस्थानी माता र माधवनारायणव्रत माघ ३० गते एकै दिनमा समापन हुने गर्दछ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस