आज:  | Fri, 10, Jan, 2025

मालती पुलनजिक राखिएको सिलिन्डर बम नेपाली सेनाद्वारा ‘डिस्पोज’

२६ पुष २०८१, शुक्रबार ०८:०४ मा प्रकाशित ( ५ घण्टा अघि) ७४५ पटक पढिएको
नारी बाटिका


सुन्दरहरैँचा २६ पुस।

मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित मालती पुलनजिक भेटिएको सिलिन्डर बम नेपाली सेनाले डिस्पोज गरेको छ । पूर्वपश्चिम लोकमार्गको सडक किनारमा बम राखिएको सूचना पाएपछि नेपाली सेनाले बिहबिार बिहानदेखि नै उक्त क्षेत्रमा रिसर्च गरी बम राखिएको स्थान पत्ता लगाएपछी हिजो साँझ डिस्पोज गरेको हो ।
मालती पुल नजिकै माटोमुनि बम रहेको आशंकामा जानकारी प्राप्त भएलगत्तै खोजीका लागि नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन भएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहालले बताउनु भयो । प्रवत्ता तथा प्रहरी सुचना अधिकारी दाहालका अनुसार खोजतलास गर्दा पुल नजिक सुरुङ खनेर राखिएको अवस्थामा सिलिन्डर बम फेला परेको उल्लेख थियो ।

त्यहाँ भेटिएको चारवटा मध्ये दुईवटा सिलिन्डर बम तथा दुईवटा खाली सिलिन्डर रहेको पत्ता लागेको छ । विस्फोटक पदार्थले भरिएको दुईवटा सिलिन्डर बम भने सेनाको टोलीले डिस्पोज (निष्क्रिय)गर्न सफल भएको हो । दुईवटा खाली सिलिन्डर भने नेपाली सेनाले नै लिएर गएको बताइएको छ ।

सो लोकमार्गको दक्षिणतर्फ सुरुङ खनेर राखिएको बम द्वन्द्वकालीन भएको प्रहरी स्रोतले उल्लेख गरेको छ । बम डिस्पोज गर्ने क्रममा थर्किएर नजिकै रहेको घरको झ्यालमा सिसा फुटेर क्षतिसमेत पुगेको छ । सेनाले बम निष्क्रिय गर्ने क्रममा पड्किँदा धेरै परसम्म ठूलो आवाजका थर्कन आएको थियो ।

सो क्रममा त्यस पुल हुंदै गुड्ने सवारीसाधन तथा हिँडडुलका लागि दिनभर लोकमार्ग बन्द गरेर वैकल्पिक बाटोको व्यवस्था गरिएको थियो । बम राखिएको ठाउँ आसपास पूर्वपश्चिम एसियन हाइवे स्तरोन्नतिको काम पनि भईरहेको अवस्था छ ।

नेपालमा करिब दुई दशकअघि नेकपा माओवादीले गरेको तत्कालीन द्वन्द्वकालमा माटोमुनि राखिएको उक्त बम नै भएको सूचना पाएपछी तालिम प्राप्त टोलीबाट डिस्पोज गरिएकाले मानवीय क्षति हुनबाट बचेको थियो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस