आज:  | Tue, 07, Jan, 2025

लगातारको हुस्सु र कुहिरोको कारण चिसोले तराई-मधेशको जनजीवन प्रभावित

२२ पुष २०८१, सोमबार ०६:५२ मा प्रकाशित ( १ दिन अघि) ११४८ पटक पढिएको
नारी बाटिका


वीरगञ्ज २२ पुस ।

पछिल्लो समयमा तराईमा लगातारको हुस्सु र कुहिरोको कारण तराईका धेरै जिल्लाको जनजीवन प्रभावित भएको छ। शनिबार र आइतबार निरन्तर हुस्सु लागेपछि वृद्ध वृद्धा तथा सर्वसाधारणहरु चिसोबाट प्रभावित भइरहेका हुन्।

हाल तराईमा शीतलहरको कारण स्याँठ चल्दा घर बाहिर निस्किने सर्वसाधारण बाहिर निस्कन सकेका छैनन् । चिसो बढेसँगै ज्येष्ठ नागरिक, बालबालिका र अशक्त वर्गहरु बढी प्रभावित भएका छन्।

मौसम फिल्ड कार्यालय सिमराले जनाए अनुसार मधेशमा हुस्सु र कुहिरो लागेसँगै बारा, पर्सा दुवै जिल्लाको तापक्रम घटिरहेको जनाएको छ। शनिबार वीरगञ्जको अधिकतम तापक्रम १५ डिग्री सेल्सियस र शनिबारको न्यूनतम तापक्रम ९.५ डिग्री सेल्सियस मापन गरिएको थियो।

आइतबार बिहानको न्यूनतम तापक्रम १०.५ डिग्री सेल्सियस मापन गरिएको छ। बारामा आइतबार बिहान ८ः५६ बजे तापक्रम मापन गर्दा नौ डिग्री सेल्सियस मापन गरिएको छ ।

वीरगञ्ज महानगरले वीरगञ्ज आसपासमा जाडो बढेसँगै नारायणी अस्पताल, नयाँबसपार्क चोक, घण्टाघर चोक माईस्थान चोक, मुरली चोक लगायतका स्थानमा दाउरा उपलब्ध गराएर आगो ताप्ने व्यवस्था गरेको छ।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले चिसोबाट जनतालाई जोगाउन विभिन्न स्थानमा दाउरा वितरण गरिरहेको बताउनु भयो। प्रजिअ अर्यालले आर्थिक अवस्था कमजोर भएका परिवारलाई सिरक तथा न्यानो लत्ताकपडा वितरण भइरहेको जानकारी दिए।

शीतलहरले जनजीवन प्रभावित भएपछि जाडो बढेसँगै लाग्ने हुस्सु र कुहिरोले चिसो बढ्ने भएकाले स्वास्थ्यमा विशेष सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस