आज:  | Sat, 04, Jan, 2025

पदस्थापनाको माग गर्दै स्थानीय तहका कर्मचारी आन्दोलनमा

१८ पुष २०८१, बिहीबार ०६:२० मा प्रकाशित ( २ दिन अघि) ९९३ पटक पढिएको
नारी बाटिका


जनकपुर १८ पुस ।

मधेश प्रदेशको जनकपुरमा स्थानीय तहका कर्मचारीहरु पदस्थापनाको माग गर्दै आन्दोलनमा उत्रेका छन्। कर्मचारीहरुले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हातामा धर्ना दिएका हुन्।

स्थानीय तहका कर्मचारीहरुले आन्दोलन समितिसमेत गठन गरी गरिएको आन्दोलनमा संयोजक वीरबहादुर सलौराले सम्बन्धित निकायले सुनवाइ नगरे देशव्यापी आन्दोलन गर्ने पनि चेतावनी दिएका छन्। मधेश प्रदेशमा एक हजार कर्मचारी स्थानीय तहका कर्मचारी कार्यरत छन्।

सङ्घीय लोकसेवा आयोगबाट अन्य प्रदेशमा सिफारिस भइ आएका कर्मचारीको सम्वन्धित जिल्लाका स्थानीय तहमा पदस्थापना भईसकेको र यस मधेश प्रदेशका कर्मचारीको भने अहिलेसम्म पनि पदस्थापना नभएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।

कर्मचारीहरुको हालसम्म पनि पदस्थापना हुन नसक्दा थप सेवा सुविधा पाउन समस्या भएको आन्दोलनरत कर्मचारीको भनाइ छ। उनीहरूले आन्दोलन गर्नुपूर्व मुख्यमन्त्री सतिशकुमार सिंहलाई लिखितरूपमा पदस्थापनाको लागि आग्रह गर्दै ध्यानाकर्षण पत्र पनि बुझाएका थिए।

उक्त प्रदेशका विभिन्न स्थानीय तहका प्राविधिक, लेखा, राजस्व, प्रशासनलगायत विभिन्न समूहका १६० कर्मचारीले कार्यालयको काम छोडेर धर्नामा बसेका छन्। आन्दोलन समितिले जनाए अनुसार पटक–पटक लिखित तथा मौखिक जानकारी गराइएको भनाई छ ।

मधेश प्रदेश मुख्य मन्त्रालयले सो समस्याको कुनै सुनवाइ नभएपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको कर्मचारीको गुनासो छ। उनीहरु एक वर्षअगाडि सङ्घीय लोकसेवा आयोगबाट उत्तीर्ण भई मधेश प्रदेशमा पदस्थापनाका लागि सिफारिस भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस