आज:  | Sat, 21, Dec, 2024

हिरासतमा रहेका रवि सुतिरहेको तस्वीर बाहिरिएपछी रास्वपा नेताको आपत्ति

४ पुष २०८१, बिहीबार ०७:१४ मा प्रकाशित ( २ दिन अघि) ३०७० पटक पढिएको
नारी बाटिका


काठमाडौं ४ पुस ।

प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सीसीटीभीबाट लिइएको एउटा तस्वीर बुधबार राति बाहिरिएको छ । सार्वजनिक भएको लामिछानेको तस्वीरमा उहाँ सिरहक ओढेर मस्तसंग सुतिरहेको देख्न सकिन्छ ।

पूर्वउपप्रधान एवं गृहमन्त्री लामिछानेको प्रहरी हिरासतमै रहँदाको उक्त तस्वीर बाहिरिएपछि उहाँ नेत्तृत्वको दल रास्वपाका नेताले आक्रोश व्यक्त गरेका छन् । रास्वपा कै नेता दीपक बोहराले सामाजिक सञ्जाल फेसबूकमा तस्वीर राख्दै जानाजान प्रहरीले नै यो तस्वीर सार्वजनिक गरेको दाबी गर्दै आपत्ति जनाएका छन् । बोहराले भनेका छन् कुनै उद्देश्यका लागि यो तस्वीर सार्वजनिक भएको हुन सक्ने उनले आशंका जनाएका हुन् ।

नेता बोहराले लेखेका छन् ‘अन्याय गर्नुको पनि हद हुन्छ । रवि दाइ हिरासतको कक्षमा सुतेको सीसीटीभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला ? अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो ? कति हो यो फोटोको मूल्य ? न्याय मरेको छैन भने ’ कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला,’ बोहराले फेसबूकमा लेखेका छन् ।

गत कात्तिक २ गतेदेखी सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । उनलाई जिल्ला सरकारी वकिल कार्यालय, कास्कीले सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित अभियोगपत्र शुक्रबार अदालतमा दर्ता गर्ने तयारी गरेको छ ।

उनलाई मंगलबार थप चार दिन हिरासतमा राखेर बाँकी रहेको अनुसन्धान गर्न कास्की अदालतले अनुमति दिएपछि प्रहरीबाट आएको राय प्रतिवेदनलाई अध्ययन गरेर शुक्रबारभित्रै अभियोजन गर्ने या नगर्ने भन्ने कास्की सरकारी वकिल कार्यालयको तयारीका साथ प्रतिवेदनको अध्ययन गरिरहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस