आज:  | Thu, 21, Nov, 2024

सभापती रवीसँग ९ घण्टा लामो बयान लिएपनि सकिएन,,आज फेरि बयान

२९ कार्तिक २०८१, बिहीबार ०४:२६ मा प्रकाशित ( १ हफ्ता अघि) ४९ पाठक संख्या
नारी बाटिका


  • काठमाडौं – २९ कात्तिक ।

बुटवलको सुप्रिम सहकारीको बचत रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग ९ घण्टा लामो बयान लिँदापनि बुधबार सकिएन आजपनि उनीसंग बयान लिने क्रम जारी छ । जिल्ला सरकारी वकिल कार्यालय रूपन्देहीमा दुई दिनदेखि जारी बयान लिने कार्य हिजो नसकिएपछि आज बिहीवार पुनः बयान लिने गरी बुधबार स्थगित गरिएको थियो।

जिल्ला प्रहरी कार्यलय रुपन्देहीकी सुचना अधिकारी तथा प्रहरी प्रवक्ता, प्रहरी नायब उपरीक्षक लक्ष्मी खनालले बुधबार साँझ ७ बजेसम्म बयानलिँदा पनि नसकिएपछी आज बिहीवार पनि बयान जारी रहेको बताउनु भएको थियो ।

साथै बयानका लागी कडा सुरक्षाका व्यवस्थापन गरी सरकारी वकील कार्यालयमा लगेर बयान लिएको हो। मंगलबार दिउँसो १ बजेबाट सुरू भएको बयान साँझ ५ बजेसम्म चलेको थियो भने बुधबार विहान १० बजेदेखि राति ७ बजेसम्मै ९ घण्टासम्म बयान लिइएको थियो।

अहिले लामिछानेलाई रूपन्देही प्रहरी कार्यालय कै हिरासतमा राखिएको छ। भैरहवापछि स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन अनुसन्धानका लागि काठमाडौँमा पनि बयान लिने व्यवस्थाको लागी तयारी गरिएको छ।

उनलाई मंगलवार पोखराबाट भैरहवा तर्फ लगिएको थियो । भैरहवा विमानस्थलबाट सिधै सरकारी वकिल कार्यालय पुर्‍याइएको हो। रूपन्देही जिल्ला अदालतले ८ कात्तिकमा लामिछानेसहित १२ जनालाई संगठित अपराधमा पक्राउ गर्न अनुमति दिएको थियो।

बुटवलको सुप्रिम सहकारीको रकम गैरकानुनीरूपमा गोर्खा मिडियामा सारिएको विषयमा नेटवर्कका तत्कालीन उपाध्यक्ष छविलाल जोशीसँग दुई दिन बयान लिएर हाल पोखरा प्रहरीको जिम्मामा पठाइएको थियो। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने कास्की प्रहरीको हिरासतबाट रुपन्देही ल्याएर बयान लिइएको हो।

सूर्यदर्शन सहकारी संस्थाको जस्तै गरी सुप्रिम सहकारीको रकम पनि लामिछाने प्रबन्ध–निर्देशक रहेको गोर्खा मिडियामा लगेर अपचलन भएको सहकारी सम्बन्धी संसदीय छानबिन समितिको प्रतिवेदनले उल्लेख गरेको थियो।

बुटवलको सुप्रिम सहकारीबाट जोशीको नाममा दुई करोड ५० लाख र लामिछानेको नाममा एक करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगिएको संसदीय विशेष छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ।

छवीलाल जोशी र लामिछानेसहित जीबी राई, भूपेन्द्रबाबु राई, कुमार रम्तेल र गोर्खा मिडिया नेटवर्कका नाममा गरी सुप्रिम सहकारीबाट १४ करोड २९ लाख ३६ हजार रुपैयाँ रकम पठाइएको छानबिन समितिले पत्ता लगाएको थियो। सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङसहित २८ जनाविरुद्ध जिल्ला अदालत रूपन्देहीमा प्रहरीले मुद्दा दायर गरेको थियो।

हाल उक्त सहकारीका अध्यक्ष गुरुङ पुर्पक्षका लागि जिल्ला कारागार रूपन्देहीमा चलान भएका छन् । तर सहकारीका पूर्वसचिव दीपेश पुनसहित ६ जना व्यक्तिहरु भने धरौटीमा रिहा भइसकेका छन्। सोही प्रकरणमा जोडिएका सहकारीका पूर्वअध्यक्ष एवं संरक्षक राईसहित अन्य व्यक्ति भने फरार छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस