आज:  | Thu, 02, Jan, 2025

राष्ट्रिय मुद्दामा एक ढिक्का बन्ने बालुवाटर बैठकको निष्कर्ष

७ कार्तिक २०८१, बुधबार १४:३४ मा प्रकाशित ( २ महिना अघि) ४०४ पटक पढिएको
नारी बाटिका


  1. काठमाडौँ ७ कार्तिक ।

नेकपा एमालेको नेतृत्वमा संन्चालित सरकारलाई समर्थन गरिरहेका राजनीतिक दलको आज बसेको बैठकमा सरकारको सय दिनको प्रगति, समसामयिक घटनाक्रम र राष्ट्रिय हित एवं मुद्धामा समान धारणाका साथ एकढिक्का भएर अघि बढ्नेमा छलफल भएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार भएको बैठकमा लोकतान्त्रिक पद्धति, विधिको शासन, सुशासन र जनतामा सेवा प्रवाहका विषयमा सरकार स्पष्ट भई दृढताका साथ काम गरिरहेको जानकारी गराइएको छ।

यो सरकारको सय दिन पुगेको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ३ बजे सिंहदरबारबाट समग्र कामको उपलब्धिबारे सम्बोधन गर्नेबारे बैठकलाई जानकारी गराइएको थियो।

सो बैठकमा गृहमन्त्री रमेश लेखकले सहकारी अनियमितता सम्बन्धी संसदीय छानविन समितिबाट सर्वसम्मत रूपमा तयार गरेको प्रतिवेदन कार्यान्वयनका क्रममा पूर्व(उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने समेतलाई अनुसन्धानका क्रममा पक्राउ गरिएको जानकारी गराउनु भयो। उहाँले फौजदारी घटनामा न्यायिक छानविन भइरहेका बेला अन्यदल र सरकारलाई दबाब दिने हिसाबले भइरहेका विरोध प्रदर्शन उचित नभएको बताउनु भयो।

यस्ता विषयमा सत्तामा सहभागी दलहरुले आफ्ना आफ्ना तर्फबाट वक्तव्य जारी गरी न्यायिक छानविन र लोकतान्त्रिक पद्धतिलाई निष्पक्षरुपमा अगाडि बढाउन आग्रह गर्ने बारेमा पनि बैठकमा समझदारी भएको छ।

बैठकमा हालसम्मको काम र आगामी योजना लगायत विषयमा यही कात्तिक ९ गते शुक्रबार दिउँसो ३ बजे अर्को बैठक बसिने साझा धारणा सार्वजनिक गर्ने पनि आजको बैठकबाट तय भएको सत्तारुढ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिएका छन्।

उक्त बैठकमा नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा,गृहमन्त्री लखेक,एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा सिके राउत लगायतमने सहभागी थिए।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस