बिबियु संवाददाता
जोमसोम– १८ असोज ।
विशेषगरी यार्सा गुम्बा, नीरमसी जस्ता वन्य जडीबुटी खाने भएकोले भेडा—च्याङ्ग्राको मासु स्वास्थ्य वद्र्धक हुने भेडा—च्याङ्ग्राको मासु स्वास्थ्य वद्र्धक हुने बताइन्छ। आम्दानीको मुख्य आयस्रोत मानिएको हिमाली जिल्ला मुस्ताङबाट करिब ९ हजारको हाराहारीमा दशैं पर्व मनाउनका लागी भेडा—च्याङ्ग्रा बेंसीतर्फ झारिएका छन्।
भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र कार्यालय मुस्ताङले बिहीबारसम्म अनुमानित ९ हजारको संख्यामा भेडा—च्याङ्ग्रा बेंसीतर्फ झारिएको जनाएको छ। जसमध्ये उपल्लो डोल्पाबाट मुस्ताङ रुट हुँदै करिब ३ हजारको हाराहारीमा भेडा—च्याङ्ग्रा पोखरा झारिएका छन्।
मुस्ताङको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र गाउँपालिका र उपल्लो डोल्पाबाट जोमसोम झारिएका भेडा–च्याङ्ग्रा कतिपयले पैदल हिँडाएर बेंसी झारेका हन्। तर केही व्यक्तिहरुले भने सम्बन्धित पशु पालकको गोठमै पुगेर ट्रकमा ढुवानी गरी बिक्रीका लागि पोखरा र काठमाडौं पुर्याएका छन्।
साथै प्रत्यक वर्ष मुस्ताङबाट निकासी हुने भेडा—च्याङ्ग्राको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र र धौलागिरि प्राविधिक शिक्षालयले पशु निरोगिताको प्रमाणपत्र उपलब्ध गराउने गर्दछ। यस वर्ष भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र मुस्ताङ र धौलागिरि प्राविधिक शिक्षालय लेतेबाट गरी करिब ९ हजार भेडा—च्याङ्ग्राको पशु निरोगिताको प्रमाणपत्र उपलब्ध गराइएको भेटेरिनरी अस्पतालका कार्यालय प्रमुख एवं पशु चिकित्सक लालमणि अर्यालले जानकारी दिएका छन्।
मानव स्वास्थ्यलाई मध्यनजर गर्दै बर्सेनि मुस्ताङबाट बाहिरिने दसैंको लागी बेचविखन तथा खरिद गरिने भेडा— च्याङ्ग्रा पशु निरोगिताको परीक्षण गर्ने गरिन्छ। पशुस्वास्थ्य परीक्षण गरेरमात्रै मुस्ताङबाट बिक्रीका लागि भेडा च्याङ्ग्राको निकासी गर्न पाइने प्रावधान रहेको पशु चिकित्सक अर्यालको भनाइ छ। यसवर्ष दसैंका लक्षित भेडा—च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेबापत सम्बन्धित पशु चिकित्सकले प्रतिगोटा १५ रुपैया परीक्षण शुल्क लिने गरेका छन्।
विशेषगरी पशु चिकित्सकले पशुमा जुनेटिक (खोरेत)रोग लागे, नलागे पहिचान गरेपछि पशु निरोगिताको पहेंलो कार्ड वितरण गर्छन्। यस वर्ष मुस्ताङबाट निकै कम संख्यामा भेडा—च्याङ्ग्रा बेंसी झारिएको प्रक्षेपण गरिएको छ। उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतबाट भेडा—च्याङ्ग्रा नेपाल भित्रिन नपाएको र उपल्लो मुस्ताङमा पालिएको च्याङ्ग्राको रौं (पस्मिना)काटेर बिक्री गर्ने गरिएकाले यसवर्ष भेडा—च्याङ्ग्रा कम आएको हो।
पशु सेवाविज्ञ केन्द्र मुस्ताङले गत वर्ष ७२ हजार पशुचौपायालाई यहाँ पशु खोप सुनिश्चितता गरेको थियो। जसमध्ये दुई तिहाइभन्दा बढी भेडा—च्याङ्ग्राको संख्या रहेको थियो। यसवर्ष करिब ५० हजारभन्दा बढी भेडा—च्याङ्ग्रा मौज्याद हुँदा निकै कम संख्यामा भेडा—च्याङ्ग्रा भित्रिँदा दसैं तिहारको पूर्वसन्ध्यामा हुने भेडा—च्याङ्ग्राको व्यापारमा ह्रास आउन थालेको अनुमान गरिएको छ।
गत वर्ष मुस्ताङमा ४५ हजार २ सय ९२ भेडा–च्याङ्ग्रा ५० हजार ९१ भेडा—च्याङ्ग्रालाई पशुमा पूर्ण खोप लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रको रेकर्ड थियो । जिल्लाको रेकर्डमा उक्त संख्या उल्लेख गरिएपनि २० प्रतिशतभन्दा कम भेडा—च्याङ्ग्रा मुस्ताङ बाहिरिएको हो।गतवर्ष तुलनामा यस वर्षमा भेडा—च्याङ्ग्राको मूल्य सस्तिएको भेडा —च्याङ्ग्रा व्यापारी बताउँछन्।
गत वर्ष मुस्ताङमै ४५ हजार भन्ने गरिएको भेडा—च्याङ्ग्रा यसवर्ष ३५ देखि ३८ हजार रुपैयाँमा बिक्री गरिएको च्याङ्ग्रा व्यापारी पेम्बा रोकायाले बताए।
हिमाली चिसो हावापानीमा उत्पादन हुने भेडा—च्याङ्ग्राको मासु स्वादिलो र पोसिलो हुने जनविश्वाश छ। हिमाली क्षेत्रको उच्च भूगोलमा पालन गरिने भेडा—च्याङ्ग्राले वन्य जडीबुटी यार्सा गुम्बा, नीरमसी, जटामसी, पाँचऔले, कुटुकी र वन लसुनजस्ता वनस्पती खाने भएकाले भेडा—च्याङ्ग्राको मासु स्वास्थ्य वद्र्धक हुने बताइन्छ।
प्रतिक्रिया दिनुहोस