आज:  | Thu, 19, Sep, 2024

आज १०औं संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै,संम्विधानको मर्म अनुरुप नागरिकले के पाए त ?

३ आश्विन २०८१, बिहीबार ०५:४६ मा प्रकाशित ( १५ घण्टा अघि) ७३ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ३ असोज ।

नेपाली जनताले आफ्ना रगत र पसिनाको बलिदान दिएर बनाईएको नेपालको संविधानले आज १०औं दिवस मनाउँदैछ। तत्कालीन सात राजनीतिक दल र विद्रोही पक्षका नेकमा (माओवादी)बीच भएको शान्ति सम्झौतापछी अन्तरिम संविधान, संविधानसभा निर्वाचन र जनताको बलिदानले २०७२ सालको असोज ३ गते नेपालको संविधान जारी गरिएको थियो। सोही दिनको सम्झनामा हरेक वर्षझै आज पनि देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ।

२०६२।०६३ को जनआन्दोलन पश्चात प्राप्त भएका उपलब्धिहरू नयाँ संविधानमा राखिएका छन् । जनताको आर्थिक,सामाजिक तथा सांस्कृतिक अधिकारसहित समाजवाद स्थापना गर्न लेखिएको यस संविधान हाल कार्यान्वयमा रहेको भएतापनि संविधानको मर्म र भावना अनुरुप देशमा कार्य सकिरहेको छैन । तर नेपालको संविधान भने विगतको भन्दा विशिष्ट र फरक रहेको भनिएको पाईन्छ।

नेपालको संविधानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरी समृद्ध बनाउँदै लगेको छ भने स्थानीय तहमा नै नागरिकलाई सहज र सरलरूपमा सेवा उपलब्ध गराउनको लागी तिन तहको सरकारको कल्पना गरि निर्माण भएको संविधानको भावना अनुसार राजनितिक दलले काम गर्न सकिरहेका छैनन् । सात प्रदेश, ७५३ स्थानीय तह र सङ्घीय सरकारमार्फत नयाँ राजनीतिक प्रणाली समेत अवलम्बन गरेको छ। तर पछिल्लो समयमा हेर्ने हो भने चौतर्फी भ्रष्टाचार, अपराधीको सम्रक्षण गर्ने थलोको रुपमा न्यायपालिका र व्यवस्पीकाको कार्यशैली देखिएको छ ।

विसं २०७२ असोज ३ गते संविधान जारी भएको दिनको स्मरणमा हरेक वर्ष आजका दिन संविधान दिवस मनाइँदै आएको छ। यसपटक दशौं संविधान दिवस मनाउन लागिएको हो। सरकारको निर्णयानुसार असोज २–४ गते राष्ट्रिय दिवसका रूपमा नेपाल र विदेशस्थित नेपाली राजदूतावास र नियोगमा दीपावलीलगायत कार्यक्रम गरी मनाउन लागिएको छ। राष्ट्रिय दिवस मनाउन प्रधानमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ। दिवसका अवसरमा बिहिबार सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरिएको छ।

वर्तमान सरकारले संविधानको कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनी तथा नीतिगत विषयलाई सम्बोधन गर्न अघि बढ्ने जनाएको छ । मूल समारोह समितिअन्तर्गत प्रचारप्रसार उपसमितिले दिवसको व्यापक प्रचारप्रसारका लागि सरकारी, सामुदायिक तथा निजी क्षेत्रका सञ्चार माध्यमलाई यसअघि नै आग्रह गरेको थियो।

संविधान दिवसको शुभकामना सन्देश वा एसएमएस नेपाल टेलिकममार्फत व्यापकरूपमा पठाउने तथा डिस्प्ले बोर्डमा सन्देश प्रसारण गराइएको छ । नेपालको संविधानका विषयमा केन्द्रित रही विशेष संवाद, परिसंवाद लगायत जनचेतनामूलक कार्यक्रम प्रसारण, प्रकाशन गराउने, राष्ट्रियस्तरका पत्रपत्रिकामा संविधान विशेषाङ्क स्मारिका प्रकाशन गरिएको छ।

संविधानको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख, रचनाको सङ्गालो प्रकाशन गर्ने, राष्ट्रिय समाचार समिति, नेपाल टेलिभिजन, रेडियो नेपाल र गोरखापत्र संस्थानबाट संविधानको महत्वबारे समाचार, आलेख, अन्तर्वार्ता, कार्यक्रम आदि प्रसारण र प्रकाशन गरिएको छ। काठमाडौँ उपत्यका र बाहिरका डिस्प्ले बोर्डमा शुभकामना सन्देश राख्न महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाले समन्वय गरेका छन् ।

नेपाली सैनिक मञ्च, टुँडिखेलमा हुने औपचारिक समारोहको प्रत्यक्ष प्रसारण भने नेपाल टेलिभिजन र रेडियो नेपालले गर्ने कार्यक्रम छ। तर आज नेपालको संविधानले १० वर्ष पार गरि रहँदा नेपाली नागरिकले के पाए त ? कति युवाहरुले स्वदेश मै रोजगार पाएर विदेश धाउनु पर्ने वाध्यता हट्यो त ? साथै कति अन्यायमा परेका नागरिकले न्यायपालिका तथा सरकारको प्रशासनबाट न्याय पाए ?

सरकारका कर्मचारी तन्त्रबाट नेपाली नागरिकले सेवा सहज रुपमा पाउन सके की सकेनन् ? कति विपन्न वर्गका नागरिकले स्वास्थ्यमा पहच भयो ? भन्नेमा कुनै राजनितिक दलको ध्यान गएको पाईदैन । बरु जसरी हो सत्तामा जाउ र चुनाबको खर्च उठाउ र अर्को पटक टिकटलाई जसरी भएपनि प्राप्त गर भन्ने भन्ने पक्षमा लागेका राजनितिक दल र दलका नेताले आफ्ना पक्षमा फाईदा उठाउन कुनै कसुर पनि बाँकी नराखेको अवस्था छ । जय होस नेपालको संविधानिक मर्मको …..

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस