आज:  | Thu, 19, Sep, 2024

सहकारीको बचत हिनामिना प्रकरणमा रवि लामिछाने दोषी ठहर

३१ भाद्र २०८१, सोमबार १३:०८ मा प्रकाशित ( २ दिन अघि) १८८ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ३१ भदौ ।

सहकारी संस्थाको बचत रकम हिनामिना गरेको प्रकरणमा रवि लामिछाने दोषी ठहर भएका छन् । गोरखा मिडिया नेटवर्कमा सहकारी संस्थाको रकम अपचलन गरी नियम विपरित ल्याएको विषयमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पुर्वगृह्रमन्त्री रवि लामिछानेलाई दोषी ठहर गरेको हो ।

सहकारी संस्थाको रकम ठगीको निकै चर्चा चलेको गोरखा मिडिया कम्पनीका अध्यक्ष गितेन्द्रबाबु (जीबी)राई, प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविलाल जोशीले केवाईसी फर्म भरेर चेकमा हस्ताक्षर गर्ने गरी दुई वटा बैंकमा संयुक्त खाता सञ्चालन गरेको भेटिएको समितिका एक स्रोतले जानकारी दिएको छ ।

लामिछाने प्रबन्ध निर्देशक रहेकै समयमा पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र चितवनको सहारा सहकारीबाट ८१ करोड ३१ लाख रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्कमा लगिएका समितिले ठहर गरेको हो । समितले रवि लामिछाने समेत ९ जनालाई कारबाही गर्नुपर्ने आधारसहितको प्रतिवेदनमा आज संसदमा पेश गरेको छ ।

संसदीय छानविन समितिका सभापति सूर्य थापाले तीन महिना १५ दिनसम्म लामो अनुसन्धान गरी तयार पारिएको प्रतिवेदन सभामुख देवराज घिमिरेलाई बुझाउन लागिएको छ । एमालेका सांसद सुर्य थापाको नेतृत्वमा जेठ १५ गते गठन गरिएको संसदीय छानबिन समितिले जेठ २२ गतेदेखि काम थालेको थियो । शुरुमा तीन महिनाको समय पाएको समितिको भदौ २२ गतेसम्म प्रतिवेदन तयार नभएपछि १५ दिनको समय थप भएको थियो ।

छानविनका क्रममा समितले सहकारीका सरोकारवाला, सरकारी निकाय, ठगी भएका भनिएका सहकारीका वर्तमान र पुर्व पदाधिकारी, ठगीको आरोप लागेका विभिन्न व्यक्तिहरुसँग गरि ६३ वटा बैठक बसेर निष्कर्ष निकालेको हो । साथै यसै शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेको थियो ।

संयोजकमा सूर्य थापा थिए भने एमालेबाट सरिता भुसाल, नेपाली कांग्रेसबाट बद्री पाण्डे (दिलेन्द्र प्रसाद बडू) र ईश्वरीदेवी न्यौपाने, माओवादी केन्द्रबाट लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीका ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । कांग्रेसका बद्री पाण्डे मन्त्री बनेपछि बडुले समितिको सदस्यको रुपमा काम गरिरहेका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%

प्रतिक्रिया दिनुहोस