आज:  | Thu, 19, Sep, 2024

अव्यवस्थित सडक खन्दा बागलुङका गाउँ वस्तीमा पहिरोको उच्च जोखिममा

३१ भाद्र २०८१, सोमबार १२:३२ मा प्रकाशित ( २ दिन अघि) ६५ पाठक संख्या
नारी बाटिका


बागलुङ, ३१ भदौ ।

बागलुङमा अव्यवस्थित रूपमा निर्माण भएका मोटर बाटोले कैयौँ नागरिकलाई उठिबास लगाएको पाइएको छ। अग्ला–अग्ला पहाडको शिरमा रहेका बस्तीसम्म सडक पुर्‍याउँदा त्यसले पर्यावरणमा पर्ने असरका बारेमा भने कसैको ध्यान पुग्न सकेको छैन। स्थानीय तह स्थापना हुनुपूर्व अधिकांश गाउँमा सडकको पहुँच नपुगेको बागलुङमा वर्षेनी करोडौं बजेट सकेर अहिले जताततै सडक पुगेरपनि स्थानीयलाई सहज नभएको बताएका छन् ।

बर्खाको समयमा सडकहरु बाढी र पहिरोले बगाउँदा ठूलो क्षति पुर्‍याउँदै आएको छ। गत साउन २२ गते बडिगाड गाउँपालिका–९ र १० का विभिन्न स्थानमा आएको बाढीपहिरोले ११ जनाको मृत्यु भयो। सोही समयमा गएको पहिरोले धेरै मानिस घाइते भएका छन्। करिब ८० घर विस्थापित हुनुपरेको स्थानीयहरु बताउँछन् । गाउँमा पहिरो आउनु अव्यवस्थित सडक निर्माण भएको नागरिकहरु बताउँछन्।

बडिगाडमात्र नभएर निसीखोला गाउँपालिका–१ को हुल्दी गाउँ नै सात वर्ष अगाडिदेखि पहिरोको उच्च जोखिममा परेको छ। गाउँको अवस्था नबुझी जथाभावी सडक निर्माण गर्दा पहिरोले सिङ्गो गाउँले जोखिम मोलेर बस्नु पर्ने प्रभावित क्षेत्रका समुदायको गुनासो छ।

बढी जोखिम भएका ढोरपाटन, जैमिनी, गलकोट, बागलुङ नगरपालिका,काठेखोला, तमानखोलासहित सबै पालिकामा यस वर्ष पहिरोले ठूलो क्षति गरेको छ। पहिरोले क्षति पुर्‍याएको अधिकांश स्थान मोटर बाटोलाई छोएको छ। सम्वन्धित प्राविधिकले स्थलगत निरिक्षण तथा नापनक्सा नगरी निर्माण भएका सडकले गाउँघरको सुन्दरतालाई कुरुप बनाउनुका साथै पर्यावरणमा पनि नकरात्मक असर पुर्‍याएको छ।

अव्यवस्थित सडक निर्माण हुँदा पानीका मुहान सुक्ने र मौलिक सम्पदा मासिने गरेको नागरिकको भनाई छ । हिउँदमा करोडौँ लगानी गरेर सडक निर्माण गर्ने तर बर्खामा सञ्चालन हुन नसक्ने अधिकाँश स्थानीको भनाइ छ।

‘धेरैजसो स्थानीय तहले सबैभन्दा बढी बजेट सडक निर्माण खर्च गर्छन्, ती सडक गुणस्तरीय बन्न सकेका छैनन्’, उनले भने, ‘अझ गाउँमा निर्माण भएका सडक त बिनाइन्जिनियरिङ खनिएका छन्। बर्खामा गाउँबाट बजार झर्नुपर्यो भने हिँड्नुपर्छ। सबै सडक बन्द हुन्छन्, हिउँदमा मात्र चल्ने बर्खामा नचल्ने धेरै सडक अव्यवस्थित छन्।’

दुई–चार घर भएको ठाउँमा स्थानीय सरकारले लाखौँ रकम खर्च गरेर सडक पुर् याउने गरेको भन्दै त्यसले फाइदाभन्दा बढी बेफाइदा गरेकोले चौतर्फी आलोचना हुने गरेको छ। पालिकाभित्र करिब ५० बढी सडक भएको तर बर्खामा कुनैमा पनि गाडी नचल्दा नागरिकले सास्ती खेप्नुपरेको गुनासो छ। उपभोक्ता समितिमार्फत निर्माण भएका धेरै सडक विनानापजाँच खनिएको हुँदा गाडी गुड्ने मोडिने घुम्तीसमेत नमिलेको अवस्था छ।

२०७३ सालअघि नै नगरपालिकाभित्र ३३० किलोमिटर ग्रामीण सडक निर्माण भएको र नगरपालिकाको स्थापनादेखि हालसम्म सात वर्षमा १५७ किलोमिटर नयाँ सडक निर्माण भएको स्थानीय जनप्रतिनिधी बताउँछन् । गलकोट नगरपालिकाका प्रवक्ता हिमबहादुर भण्डारीले ग्रामीण सडकलाई व्यवस्थित बनाउन थालेको बताए।

‘जिल्लामा धेरै ठाउँ अव्यवस्थित सडक निर्माण गरियो, धेरै सडक बनाइयो भनेर गुनासो बढेको छ’, प्रवक्ता भण्डारीले भने, ‘अब धेरै बस्तीमा सडक पुगिसकेको हुँदा नयाँ ट्रयाक नखोल्ने योजना बनाएका छौँ, अतिआवश्यक परेका ठाउँमा ट्रयाक खोल्नै परे खोलिने छ नत्र स्तरोन्नतिमा ध्यान दिनेछौँ।’

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस