आज:  | Thu, 21, Nov, 2024

भारतमा पहिरोमा परी मृत्यु भएका तीन युवाको शव चितवन ल्याइयो

९ भाद्र २०८१, आईतवार ०४:५९ मा प्रकाशित ( २ महिना अघि) १८३ पाठक संख्या
नारी बाटिका


चितवन ९ भदौ ।

भारतको उत्तराखण्ड राज्यमा गएको पहिरोमा परी तिन नेपाली युवाको मृत्यु भएको थियो । मृतक तीनजनाको शव चितवन ल्याईएको छ। शव शनिबार रातिसम्म घर ल्याइपुर्‍याइने माडी नगरपालिकाकी प्रमुख ताराकुमारीकाजी महतोले बताएकी थिइन्।

नगरप्रमुख महतोका अनुसार शवको शुक्रवार बेलुका परीक्षण सकिएपछि शनिबार दिउँसो गड्डाचौकी नाका हुँदै नेपाल ल्याइएको हो। शव बोकेको एम्बुलेन्स बाटोमा रहेकाले शनिबार रातिसम्म शव माडी आइपुग्ने उनले बताएकी थिईन।

बद्रीनाथबाट केदारनाथ जाने सडकमा पर्ने फाटा क्षेत्रमा बिहीवार मध्यराति खसेको पहिरोले पुरेर चितवन माडीका तीनजना र दैलेखका एकजना मजदुरको मृत्यु भएको थियो। उनीहरू सुतेको अवस्थामा मध्यरातमा पहिरो गएको थियो।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा माडी नगरपालिका–२ शीतलपुरका ५८ वर्षीय तुलबहादुर दमाई, वडा नं १ भङ्गताका २६ वर्षीय कृष्णबहादुर परियार र वडा नं ५ छरछरेका २८ वर्षीय पूर्णबहादुर नेपाली तथा दैलेखका दीपक बुढाको पहिरोले पुरेर घटनास्थलमै मृत्यु भएको हो।

पहिरोमा परी नगरवासीको मृत्यु भएको थाहा पाएपछि मृतकका परिवारलाई भेट्न गएको नगरप्रमुख महतोले जानकारी दिएकी छिन् । साथै मृतक तीनजनाको परिवारको आर्थिक स्थिति कमजोर रहेको भन्दै उनले मृतकका परिवारलाई राहत उपलब्ध गराउने विषयमा कार्यपालिका बैठकले आवश्यक निर्णय गर्ने पनि जानकारी दिइन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस