काठमाडौं १५ साउन ।
सहकारीको रकम हिनामिना प्रकरणमा नाम जोडिएका पूर्वगृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने सहित यस प्रकरणमा संलग्न दर्जनौं व्यक्तिका बारेमा छानबिन गर्न संसदीय विशेष समितिले सक्रियता बढाएको छ । एमाले सांसद सूर्यबहादुर थापाको संयोजकत्वमा गत जेठ १५ गते गठित समितिले छानबिनको कार्य अघि बढाएको हो ।
सोमबार उक्त समितिले स्वर्ण लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका जीबी राईसहित २९ वटा संस्थाका बचतकर्ताको अर्बौँ रकम अपचलन गरी विदेशमा लुकेर बसेका १८ जनालाई झिकाउन सरकारलाई निर्देशन दिएको छ । उनीहरु विदेशमा फरार रहेका सहकारीको रकम अपचलन र हिनामिनाका आरोपितलाई चाँडो पक्राउ गर्न समितिले गृहमन्त्रीको ध्यानाकर्षण गराएको समितिले जानकारी दिएको छ ।
समितिले गृहमन्त्री रमेश लेखकसहितका प्रहरी अधिकारीहरूसँग छलफल गरेको थियो । समितिको कार्यविधिको अनुसूची १ र २ मा भएका २९ वटा संस्थाका १८ जना व्यक्तिले बचतकर्ताको बचत अपचलन तथा दुरूपयोग गरेर विदेशमा लुकेर बसेका जनाएको छ ।
रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेबिचका साझेदार सानो पाइला, सहारा, सूर्य दर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरूपयोग गर्ने गितेन्द्रबहादुर (जीबी राई) सहित २९ वटा संस्थाका बचतकर्ताको अर्बौँ रकम अपचलन गरी विदेशमा लुकेर बसेका १८ जनालाई झिकाउन सरकारलाई समितिले निर्देशन दिएको हो ।
त्यसैगरी सुमेरु सहकारी कालिमाटी र पुल्चोकका भरत महर्जन तथा उनकी श्रीमती राजमाया महर्जन, छोरा सचिन महर्जन र छोरी सरला महर्जनको खोजी गर्न समितिले निर्देशन दिएको छ । १ करोड ५४ लाख बचत फिर्ता नगरेका सूर्यदर्शन सहकारी पोखराको अध्यक्ष ज्ञानबहादुर हाल अमेरिकामा रहेका छन् ।
सूर्यदर्शन सहकारीका पछिल्ला अध्यक्ष थानबहादुर बुढामगर, भूपेन्द्र राई, शिवशिखर बहुउद्देश्यीय सहकारीका सचिव तेजबहादुर बम्जन तामाङ, इमेज सहकारीका देवकुमार नेपाली र उनकी श्रीमती छेदा नेपाली, सानो पाइला सहकारीको तस्विरन खातुन र असरफ अली, सहारा सहकारी चितवन तथा सुप्रिम सहकारी बुटवलसँग सम्बन्धित सुवास केसी फरार छन् ।
इमेज सहकारीका प्रबन्धक दीपक पौडेल, शिवशिखर सहकारीका सीईओ लीलानाथ गौतम, कान्तिपुर सहकारीका प्रेमध्वज लामा, मेगा ड्रिम सहकारीका महाशंकर रेग्मी पनि विदेश फरार रहेका छन् । सहकारीको नाममा बचतकर्ता ठगीको आरोपित उनीहरूमध्ये कोही अमेरिका, केही बेलायत, केही मलेसिया, केही भारत, केही युरोप र केहीको अवस्था अज्ञात रहेको समितिका सभापति थापाले बताउनुभयो ।
उनीहरूलाई सम्पर्कमा ल्याएपछि मात्रै समितिले गरेको छानबिन निष्कर्षमा पुग्ने थापाको भनाइ छ । सहकारीको वचत दुरूपयोग,अपचलन र ठगीमा संलग्न भई फरार रहेका र सोधपुछ गरिने सूचीका व्यक्तिहरूलाई समेत संसदीय विशेष छानबिन समितिको सम्पर्कमा ल्याउने प्रबन्ध मिलाउन आग्रह गरिएको थापाले जानकारी दिनुभयो । यसै मुद्दामा जेलमा भएकाहरूको बयानका लागि सहजीकरण गरिदिनसमेत सरकारलाई समितीले आग्रह गरेको छ ।
उक्त बैठकमा गृहसचिव एकनारायण अर्याल र नेपाल प्रहरीका महानिरीक्षक ९आईजीपी( वसन्त कुँवरको समेत सहभागिता थियो । रास्वपाका सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका व्यावसायिक साझेदारसमेत रहेका सानो पाइला, सहारा, सूर्य दर्शन, स्वर्णलक्ष्मी, हाम्रो नयाँ कृषि, सुप्रिम र समानता सहकारीको बचत दुरूपयोग गर्ने गितेन्द्र बहादुर (जीबी राई)लाई पक्राउ गरेपछि धेरै विषयहरू बाहिरिने समितिले निष्कर्ष निकालेको छ ।
१५ जेठमा गठित समितिमा एमालेकातर्फबाट सूर्य थापा, सरिता भुसाल, कांग्रेसका बद्री पाण्डे र ईश्वरी न्यौपाने, माओवादी केन्द्रका लेखनाथ दाहाल, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शिशिर खनाल र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट ध्रुवबहादुर प्रधान सदस्य रहेका छन् । समितिलाई लामिछाने संलग्न गोरखा मिडिया नेटवर्क प्रालिसहित २९ वटा सहकारीमाथि छानबिन गर्ने गरी विभिन्न चारबुँदे कार्यादेशसहित तीन महिनाको समय तोकिएको छ ।
समितिको फरार सूचीमा रहेकाहरू
–जीबी राई –सूर्य दर्शन सहकारी, पोखरा
–भरत महर्जन – सुमेरु सहकारी, ललितपुर
–राजमाया महर्जन – सुमेरु सहकारी, काठमाडौं
–सचिन महर्जन – सुमेरु सहकारी, काठमाडौं
–सरला महर्जन – सुमेरु सहकारी, ललितपुर
–ज्ञानबहादुर बम्जन–सूर्यदर्शन सहकारी, पोखरा
–भूपेन्द्र राई–सूर्यदर्शन सहकारी, पोखरा
–तेजबहादुर बम्जन–शिव शिखर सहकारी
–देवकुमार नेपाली– इमेज बचत, पोखरा
–छेदा नेपाली – इमेज बचत सहकारी, बागलुङ
–तस्बिरन खातुन– सानोपाइला सहकारी, वीरगञ्ज
–असरफ अलि – सानो पाइला सहकारी, वीरगञ्ज
–सुवास केसी– सहारा सहकारी, चितवन
–दीपक पौडेल– इमेज सहकारी, बागलुङ
–लीलानाथ गौतम–शिव शिखर सहकारी, भक्तपुर
–महाशंकर रेग्मी–मेघा ड्रिम सहकारी, काठमाडौं
–थानबहादुर बुढामगर–सूर्यदर्शन सहकारी, पोखरा
–प्रेमध्वज लामा– कान्तिपुर कोअपरेटिभ, काठमाडौं
समितिमा रविलाई बोलाउने तयारी भैइरहेको छ
प्रतिक्रिया दिनुहोस