आज:  | Sun, 08, Sep, 2024

आज हरिशयनी एकादशी घर घरमा तुलसीको विरुवा रोपेर पुजा आरधना गरिँदै

२ श्रावण २०८१, बुधबार ०७:३५ मा प्रकाशित ( १ महिना अघि) १७४ पाठक संख्या
नारी बाटिका


काठमाडौँ २ साउन ।

सनातन धर्म अनुसार प्रत्येक नेपालीको घर घरमा तुलसीको विरुवा रोपेर साथै हरीसयनी एकादशी पर्व मनाईँदै छ । आषाढ शुक्ल एकादशी अर्थात् बुधबार हरिशयनी एकादशी। सनातन धर्मावलम्बीहरु घरका आँगनमा दाहिनेपट्टी पारेर तुलसीरोपण गर्दैछन्। बुधबार ३१ः४५ घडीपला एकादशी तिथि रहेको नेपाल पञ्चाङ्गमा उल्लेख गरिएको छ।

यसअघि ज्येष्ठ शुक्ल एकादशीका दिन राखिएको दलबाट तयार भएको तुलसीको बिरुवा हरिशयनी एकादशीका दिन सार्ने परम्परा छ। आज आषाढ शुक्ल एकादशीका दिन रोपिएको तुलसी विरुवा भगवान् विष्णु र विष्णुप्रियाका नामले चार महिनासम्म पूजा आरधना गर्ने प्रचलन छ। आजबाट सुरु हुने ४ महिनाको अवधिलाई चतुर्मास भनिन्छ। आज रोपिएको तुलसी कार्तिक शुक्ल (हरिबोधिनी) एकादशीमा तुलसीविवाह गरेपछि चतुर्मास सम्पन्न हुन्छ।

त्यसैगरी आज आषाढ शुक्ल एकादशीका दिनदेखि भगवान् विष्णु क्षीरसागरमा सुत्ने धार्मिक विस्वास अनुसार चार महिनासम्म विशेष मांगलिक कार्य गरिँदैन। यो अवधिमा भगवान् विष्णुसँग सम्बन्धित व्रत–उपवास र पूजापाठलाई महत्त्व दिइन्छ। यसैगरी यो अवधिमा पर्ने आठ एकादशीलाई विशेषरूपमा पनि लिइन्छ।

बिष्णु भगवान क्षीर सागरमा सुतेको बेला अर्थात् चर्तुमाशभरि कुनै पनि मङ्गल कार्यहरु जस्तै बिवाह, व्रतबन्ध आदिको लगन हुँदैन । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी पश्चात् मात्र मङ्गल लगन तथा मुहुर्तहरु हुन्छन् । बिष्णु भगवान त्यसपछिमात्र क्षीर सागरबाट उठ्नु हुने मान्यता छ ।

त्यसैगरी १ वर्षमा २४ वटा एकादशीमध्ये हरिशयनी र हरिबोधिनी एकादशीलाई विशेष महत्त्वको दिनको रुपमा लिइन्छ। वैष्णव धर्म लिएकाहरूले एकादशीलाई विशेष महत्त्व दिए पनि स्मृति मान्नेहरूले यसलाई सामान्य किसिमले मनाउँछन्। चतुर्मासका एकादशीमा काठमाडौं उपत्यकाका चार नारायण र बूढानीलकण्ठ मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

त्यसो त वैज्ञानिकहरुले पनि आयुर्वेदिक औषधिका रूपमा समेत तुलसीको उपयोग गरिन्छ। धेरै अक्सिजन फ्याँक्ने वनस्पतिका रूपमा तुलसीको महत्त्व छ। त्यसैले पनि तुलसी रोप्ने दिनलाई सनातन धर्मावलम्बी भक्तजनले विशेष दिन मान्छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस