काठमाडौं ३० जेठ ।
सर्लाहीको वागमती नगरपालिकामा भरत ताल निर्माणमा ३० करोड भ्रष्ट्राचार गर्ने मेयर भरत थापा सहित ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । वागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवा लगायतका नदीजन्य पदार्थको बिक्री वितरणमा ३० करोड अनियमितता गरेको आरोपमा मेयर थापा निलम्बित भैसकेका छन् ।
उक्त भरत ताल निर्माण कार्यमा करिव ३० करोड भ्रष्ट्राचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेयर थापा, उपप्रमुख लीला कुमारी मोक्तान सहित अन्य ६जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको हो । यसअघि पनि मेयर थापाले ५ करोड ३३ लाख अनियमितता गरेको भन्दै अख्तियारले उनीविरुद्ध पहिलो मुद्दा दायर गरेको थियो।
यस्तै अख्तियारले सोही भरत ताल निर्माणका क्रममा अनियमितता गर्ने नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत बिमलकुमार पोखरेल, इन्जिनियर सागर पौडेल, लेखा अधिकृत विश्वराज पोखरेल, जिल्ला समन्वय समिति सर्लाहीका तत्कालीन प्रमुख मेथुर चौधरी विरुद्ध पनि सोही भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
दोस्रो पटक झन् ठुलो भ्रष्टाचारको आरोप लागेका थापाले भरत ताल शीर्षकमा चलचित्र बनाएर सो फिल्ममा आफैं नायकको भूमिकामा खेल्दै हुनु हुन्थ्यो। चलचित्र बनाउने क्रममा उहाँ नायक नभएर भ्रष्टाचारको आरोप लागेका खलनायक बन्नु भयो धेरै पत्रपत्रिकाले समचार लेखेका छन् । थापाविरुद्ध अख्तियारले सम्पत्ति शुद्धीकरणमा समेत छानबिन गर्ने भएको छ। साथै, उनीमाथि अकुत सम्पत्तिमा पनि छानबिन हुने अख्तियारले जनाएको छ।
यसैगरी थापालाई विभिन्न स्वार्थ समूहसंग मिली संघीय सरकार अन्तर्गतको सागरनाथ वन विकास परियोजनाको वन क्षेत्रमा स्वीकृतिबिना अनधिकृत रूपमा माछा पोखरी निर्माणको लागि भनी ढुंगा, गिटी, बालुवा लगायत वन पैदावार उत्खनन् गरेको समेत अख्तियारको निष्कर्ष छ।
उनीविरुद्ध अख्तियारले तयार गरेको प्रतिवेदन अनुसार,प्रारम्भिक परीक्षण प्रतिवेदन (आईईई) स्वीकृत भएको भन्ने गलत लिखत तयार गरेको पनि भेटिएको छ।
अख्तियारका अनुसार, वागमती नगर कार्यपालिकाबाट उक्त माछा पोखरीको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको देखाए पनि बहुउद्देशीय माछा पोखरी निर्माण गर्ने कार्यको गुरुयोजना स्वीकृत नगरेको अनुसन्धानको क्रममा भेटिएको जनाएको छ।
यस्तै सो पोखरी निर्माण गर्दा ३३ लाख ५९ हजार घनमिटर मात्र खर्च तथा मौज्दात देखिएको र नपुग हुने वन पैदावार १३ लाख ४० हजार घनमिटर अनियमितता गरेको अख्तियारको ठहर छ । अपुग परिमाणको मूल्य २६ करोड ८० लाख रुपियाँ बराबर हानिनोक्सानी भएको र १३ प्रतिशत मूल्य अभिवृद्धि करसमेत जोड्दा ३० करोड २९ लाख रुपियाँ क्षति भएको दाबी गरी अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको हो।
यसैगरी निलम्बित मेयर थापाले भरत ताल निर्माण र त्यसको सौन्दर्यकरण गर्न भन्दै प्रदेश सरकारसँग विभिन्न समयमा गरी ४८ करोड रुपियाँ ल्याएका थिए । यसै गरी थापाले केन्द्रीय सरकारसँग ६ करोड र विभिन्न स्थानीय तहसँग २ करोड रुपियाँ पनि बजेट पारेका थिए । थापाले विभिन्न पहुँच प्रयोग गरी केन्द्र, प्रदेश र स्थानीय सरकारसँग गरी ५६ करोड रुपियाँ लगेको पाइएपछि रकम दिने निकायसँग पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग रुष्ट देखिएको छ ।
बिना योजना र काममा हचुवाका आधारमा भरत ताल निर्माण र सौन्दर्यकरण गर्ने बहानामा रकम दिने केन्द्रीय सरकारका निकाय, प्रदेश सरकार र स्थानीय तहमाथि समेत छानबिन र कारबाही हुने जनाएको छ । आयोगका अनुसार भरत तालको लागि भनेर तीनवटै सरकारका निकायबाट त्यति ठूलो पैसा हचुवामा दिइएको छ, त्यसपछि त्यसका बारेमा कुनै अनुगमन गरिएको छैन । त्यसैले यो पनि भ्रष्टाचार नै हो, उनीहरू माथि समेत छानबिन गरी कारबाही गर्छौं ।’
प्रतिक्रिया दिनुहोस