आज:  | Sat, 04, Jan, 2025

माओवादी उपाध्यक्ष महराको बयान आज सकियो ,हाजिर जमानीमा छाड्ने तयारी

८ चैत्र २०८०, बिहीबार २०:०८ मा प्रकाशित ( ९ महिना अघि) १०३९ पटक पढिएको
नारी बाटिका


काठमाडौं ८ चैत ।

नेकपा माओवादीका उपाध्यक्ष कृष्णबहादुर महराको बयान आज पनि जारी थियो । सुन तस्करी प्रकरणमा  महरालाई अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले दिएको चार दिनको म्याद आज सकिएको थियो । महरासँगको बयान आज सकिएको छ।

हिजो बुधबार र आज बिहीबार दुई दिनमा महरासँगको बयान सकिएको काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । उनको बयान सकिएपछि आजै नर्भिक अस्पतालमा ल्याई भर्ना गरिएको थियो। उनीसंग बयानको लागी डिस्चार्ज गरेर लैजाने र बयान सकिएपछि पुनः भर्ना गर्ने क्रम दुई दिनसम्म जारी राखियो। उनी बयानका क्रममा निक्कै मलिन देखिएको जनाइएको छ । एक स्रोतका अनुसार विभिन्न रोगका औषधि खाइरहेकाले उनको शारिरिक रुपमा कमजोर अवस्था देखिएको बताइएको छ।

यसै चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका उनीमाथि हिजोदेखि बयान लिन सुरु गरिएको थियो। सोही प्रकरणमा केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरो (सीआइबी)ले थप अनुसन्धान गरिरहेको छ।

पक्राउ परेकै दिन उनलाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न केन्द्रीय प्रहरी अनुसन्धान ब्यूरोलाई अनुमति दिएको थियो। प्रायः उच्च तहका नेताहरु प्रहरीको फन्दामा पर्ने वित्तिकै बिमारी भई अस्पतालमा भर्ना हुने गरेका छन् । यस्तै महमरलाईा पनि अस्पतालमा राखेर अनुसन्धान अघि बढाउन अदालतबाट आदेश भएपछि नर्भिक अस्पतालमा राखिएको हो।

काठमाडौ जिल्ला अदालतले आज थपिएको म्याद सकिने भए पनि शुक्रबार मात्रै आवश्यक प्रक्रिया अघि बढाइने सिआइबीले जनाएको छ। उक्त प्रकरणको अनुसन्धान गरिरहेका एक अधिकृतले उनी हाजिर जमानीमा छुट्न सक्ने संकेत गरेका छन्।

‘अनुसन्धानको क्रममा हिरासतमा रहेको कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक वा उपयुक्त नदेखिएमा अनुसन्धान अधिकारीले सरकारी वकिलको सहमति लिई वा तत्काल त्यस्तो सहमति लिन सकिने अवस्था नभएमा कारण सहितको पर्चा खडा गरी त्यस्तो व्यक्तिबाट धरौटी वा जमानत लिई वा निजलाई कुनै माथवर व्यक्तिको जिम्मामा हाजिर जमानीमा छाड्न वा तारिखमा राख्न सकिने मुलुकी फौजदारी कार्यविधि (संहिता)ऐन, २०७४ को दफा १५ मा उल्लेख छ।

यस्तै काठमाडौँ जिल्ला अदालतले पनि हिरासतमा राख्न सक्ने सात दिनको समय घटाएर ४ दिनमा झारेको थियो। सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले शुक्रबार मात्रै आवश्यक प्रक्रिया अघि बढाइने बताउनु भयो ।

‘ब्रेक सु’मा लुकाएर ल्याइएको ६१ किलो सुन र २०७९ पुसमा विद्युतीय चुरोट (भेप)मा ल्याइएको ९ किलो सुन तस्करीमा संलग्न चिनिया नागरिकसँग महराको नाम जोडिएको छ।

उनले सुन छुटाउन निकै पहल गरेका थिए भने त्यस प्रकरणमा आफूले असल नियतले मात्रै पहल गरेको बताउदै आएका छन् । सोही प्रकरणमा सिआइबीले महरालाई बयान कागज गराएर मात्रै छाडेको थियो। तर बयान कागज गरेर छाड्नुलाई भने सुन तस्करी नियन्त्रण जाँचबुझ आयोगले सिआइबीको त्रुटी औँल्याएको छ। यसै प्रक्रियको कारण अनुसन्धानमा सक्रिय सिआइबी प्रमुख किरण बज्राचार्य सहित अन्य तीन अधिकृतलाई जिम्मेवारीबाट समेत हटाइएको छ।

सोही सुन प्रकरणको आरोपमा महराका छोरा राहुल गत भदौ १३ गते नै पक्राउ परिसकेका छन्। राहुल हाल पुर्पक्षका लागि थुनामा छन्। सिआइबीले सुन प्रकरणमा पुरक निवेदन सरकारी वकिल समक्ष बुझाउने तयारी गरेको छ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
४%१%

प्रतिक्रिया दिनुहोस