आज:  | Mon, 06, Jan, 2025

कृषि ज्ञान केन्द्रका कर्मचारीले नै किसानको १० करोड कुम्ल्याएर फरार

२७ फाल्गुन २०८०, आईतवार ०९:०५ मा प्रकाशित ( १0 महिना अघि) १३७१ पटक पढिएको
नारी बाटिका


सिरहा – २७ फागुन ।

सिरहामा कृषि ज्ञान केन्द्रमा कार्यरत कर्मचारीले नै किसानको १० करोड रुपयाँ कुम्ल्याएर फरार भएका छन् । सिरहा जिल्लाका कृषि ज्ञान केन्द्रमा करार सेवामा कार्यरत कर्मचारी अजयकुमार कर्णले किसानलाई अनुदानमा ट्र्याक्टर मिलाइदिने आश्वासन दिँदै करोडौं रकम ठगी गरी फरार भएका हुन्।

अजयकुमार कर्णले सयौं किसानीहरुको करोडौं रकम ठगी गरी फरार भएपछी पीडित किसान आफूहरूले अनुदानको ट्र्याक्टर पनि नपाएको र रकम फिर्ता नपाएको जनाउँदै चिन्तित भएका छन्। पीडितले आफूहरूको रकम फिर्ता हुनुपर्ने माग राखेपछि कर्णले ट्र्याक्टर नपाउने सबैको रकम फिर्ता गरिदिने जनाउँदै विभिन्न मितिका नबिल र ग्लोबल आइएमई बैंकको चेक सहीछाप गरी पीडितलाई दिएका थिए ।

पीडित किसानहरुले पटक–पटक बैंक जाँदा पनि उक्त खातामा रकम नभएको जानकारी पाएपछि चेक अनादारमा बैंकिङ कसुरसम्बन्धी जिल्ला प्रहरी प्रशासन कार्यालयमा बैंकको अनादार चेक सम्वन्धि प्रहरी कार्यालय सिरहामा उजुरी दिएका छन् । प्रहरीका अनुसार कर्ण फरार रहेको र उनको खोजी कार्य जारी रहेको जनाएको छ ।

सिरहा जिल्ला प्रहरी कार्यलयका प्रवक्ता रवीन्द्रराज पाण्डेले फरार कर्णको ‘केवाइसी’ अध्ययन भइरहेको र प्राप्त भएका उजुरीको आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता गरी कारबाही अगाडि बढाइने बताउनु भयो। गाउँकै चिनजानका मानिस कृर्षी ज्ञान केन्द्रका कर्मचारी भएकोले आफूहरूले ट्याक्टर अनुदानमा पाउने प्रलोभनमा पारी रकम असुली गरिएको पिडित किसानीहरुले बताएका छन् ।

गाउँकै मान्छे त्यसमाथी पनि कृषि ज्ञान केन्द्रका कर्मचारी पनि भएकाले विश्वास गरी ट्र्याक्टर पाउने आशले अग्रिम अनुदानको आधा रकम बुझाइयो। तर अहिले न ट्र्याक्टर पाइयो, न पैसा नै फिर्ता हुन्छ ? किसानीको दुखेसो रहेको छ । प्रहरीका अनुसार कर्णले गत कात्तिक १९ र २० गते नबिल र ग्लोबल आइएमई बैंकको चेक दिएका थिए। तर उक्त खातामा रकम नै नभएको बैंकले बताएको थियो ।

फरार कर्णको सिरहा नगरपालिका–१० स्थायी घर हो। प्रहरीका अनुसार कर्णले किसानीहरुबाट केही रकम बैंक खाता मार्फत, केही रकम नगदमा कारोबार गरिएको जानकारी दिए । फरक फरक गाउँका पीडितहरू भएका कारण कसले कति रकमा नगदमा दिए भन्ने बारेमा यकिन तथ्याङ्क नभए पनि सयौँको सङ्ख्यामा हुनसक्ने प्रहरीको भनाई छ । प्रहरीका अनुसार कम्तीमा पनि विभिन्न गाउँका किसानीहरुको १० करोड बराबरको रकम हिनामिना गरी कर्ण फरार भएका छन्।

कृषि ज्ञान केन्द्र सिरहाले भने फरार रहेका कर्ण कार्यालय सहयोगीमात्र भएको जानकारी दिएको छ। पीडितका अनुसार कर्णले नायब सुब्बाको परिचयपत्र झुण्ड्याएको बताए पनि ज्ञान केन्द्रका प्रमुख नरेन्द्रकुमार महासेठले भने कर्ण कार्यालय सहयोगी मात्र भएको र विगत दुई महिनादेखि तलब पनि नलिएको जानकारी दिए।

कर्णले सर्वसाधारणको रकम हिनामिना गरेको सम्बन्धमा आफू जानकार नभएको प्रमुख महासेठले बताएका छन् । यस विषयमा सिरहा प्रहरीले थप अनुसन्धान गर्ने बताएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%१%१%

प्रतिक्रिया दिनुहोस