आज:  | Tue, 07, Jan, 2025

सहकारी संस्थाको रकम घोटाला गर्ने १९ जना बिरुद्ध बाँके जिल्ला अदालतबाट दोषी ठहर

१२ पुष २०८०, बिहीबार १७:०५ मा प्रकाशित ( १ साल अघि) १२१३ पटक पढिएको
नारी बाटिका


बाँके- १२ पुस ।

सहकारी संस्थाको रकम घोटाला गर्ने अभियोगमा १९ जना बिरुद्ध बाँके जिल्ला अदालतबाट दोषी ठहर गरेको छ । बाँके जिल्लाको पुरानो सहकारीका रुपमा संन्चालित ‘सहकारी वित्तीय संस्था लिमिटेड’मा उनीहरुले घोटाला (रकम अपचलन) गरेको मुद्दामा १९ जना दोषी ठहर भएका हुन् । उनीहरुलाई जिल्ला अदालत बाँकेले बुधबार फैसला सुनाउँदै सहकारीको रकम अपचलन मुद्दामा १९ जनालाई दोषी ठहर गरेको हो ।

बाँके जिल्ला अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले उजुरी परेका २१ जनालाई सफाइ दिँदै १९ जना अभियुक्तलाई भने दोषी ठहर गरेको छ । अदालतका स्रेस्तेदार सरोजनिधि वाग्लेका अनुसार उक्त मुद्दाको फैसलामा लीला प्रसाद वली, गौरव श्रैष्ठ, शारदा कुमारी थापा मगर, सिद्धिकुमार महर्जन, अमर खड्का, रवीन्द्र थापा, ओमप्रकाश चौधरी, लीला शाह, तुसार शाह, सन्दीप शर्मा, बलराम यादव, हरदेव बक्स चौधरी, स्थिरमणि बज्राचार्य, किरण श्रेष्ठ, गङ्गाधर सुवेदी, अरुणकुमार पाठक, गोपाल भण्डारी, सूर्य विक र सुरतराम खटिकहरु दोषी ठहर भएका हुन् ।

४ वर्र्ष अगाडी विसं २०७६ असोज देखि सुरु भएको रकम घोटाला प्रकरणको उक्त मुद्दामा हालसम्म ३३ जना धरौटीमा छुटी सकेका छन् । घोटला भएको रु ४३ करोड रकम अपचलनमा अहिले सात जना हिरासतमा रहेका छन् भने एक जना देश बाहिर रहेकाले अदालतमा हाजिर भएका छैनन् । यो मुद्दामा ४१ जना प्रतिवादी रहेको बाँके अदालतले जनाएको छ ।

उक्त सहकारीको रकम हिनामिनामा गरेको कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी रहेका छन् । कसुर ठहर भएका प्रतिवादीका लागि एक महिनाभित्र अर्को पेसी तोकेर सजाय निर्धारण गरिने स्रेस्तेदार वाग्लेले बताउनु भयो ।

कसुर ठहर भएका प्रतिवादीको हकमा फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन)ऐन, २०७४ को दफा ९ अनुसार सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने देखिएको र सो प्रयोजनका लागि जिल्ला सरकारी वकिल कार्यालय बाँके र प्रतिवादीका कानुन व्यवसायीलाई सजाय पूर्वको प्रतिवेदन सात दिनभित्र पेश गर्न समेत अदालतले आदेश दिएको छ ।

यसैगरी आरोपित अजयकुमार पाठक, सतिशकुमार शर्मा, तुल्सा थापा, अङ्गतरा वर्मा, दीपक वर्मा, चन्द्रप्रसाद तिमिल्सेना, राजेन्द्र कुमार विक, मैया केसी, पवनकुमार यादव, लक्ष्मी श्रेष्ठ, विमला गौतम, कृष्णविक्रम केसी, रत्ना राणा, प्ररमात्मा प्रसाद कुर्मी, नन्दकिशोर कहार, गङ्गा भुसाल, विजयकुमार पाठक, विनमकुमार श्रेष्ठ, नारायणबाबु अधिकारी, विनोदकुमार शाक्य र कुलानन्द रेग्मीले सफाइ पाएको स्रेस्तेदार वाग्लेले बताउनु भयो ।

अदालतले दिएको निर्देशनात्मक आदेशमा सहकारी संस्थाका सञ्चालक समितिउपर मुद्दा परी अन्तिम भई नसकेकाले सो समिति विघटन गर्न पनि आदेश दिइएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
२%३%२%

प्रतिक्रिया दिनुहोस