आज:  | Tue, 07, Jan, 2025

लागुऔषधको कारोबार गर्ने गिरोह सक्रिय,अमेरिकाबाट नेपाल गाँजा तस्करी बढदो

२ पुष २०८०, सोमबार १२:०४ मा प्रकाशित ( १ साल अघि) १४०५ पटक पढिएको
नारी बाटिका


काठमाडौं २ पुस।

पछिल्लो समयमा कहिले सुन त कहिले लागुऔषधको कारोबार गर्ने गिरोह सक्रिय भएको पाईन्छ । शनिबार अमेरिकाबाट ५५ केजी गाँजा नेपालमा भित्रिएको छ । केही दिन यता नेपाललाई ट्रान्जिट बनाएर लागु औषधको कारोबार गर्ने गिरोह सक्रिय हुन थालेपछि देशको सबै भन्दा पुरानो अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा तथा कार्यमाथि नागरिकले प्रश्न उठाउन थालेका छन् ।

केही महिना अगाडी अन्तर्राष्ट्रिय सुन तस्करले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्दै आएको देखिन्छ। विगतमा जति पनि सुरक्षा निकायको निगरानीका कारण कडाई हुने गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल केही समय यता सुरक्षा ब्यस्थामा शंका उपशंका पैदा हुन थालेको छ ।

विगतमा लागुऔषध तस्करहरूले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गरेका भएतापनि त्यतीबेलाको सुरक्षा कडाईले उनीहरू सचेत रहँदै आएका थिए।
तर, केही समय यता भने तस्करहरूले चलाखी पुर्ण ढंगले सहजै रूपमा प्रयोग गरेर विदेशबाट लागुऔषध नेपाल ल्याई नेपालबाट पुनः विदेश लैजान थालेपछि सुरक्षा अधिकारीहरू चिन्तित बनेका छन्।

विश्वको अवैध लागुऔषधको कारोबार हुने देशहरु मध्यको ठूलो बजार छिमेकी मुलुक भारत भएकाले अन्तर्राष्ट्रिय गिरोहले विदेशबाट लागुऔषध नेपाल ल्याउने र नेपालबाट स्थलमार्ग हुँदै भारत पठाउने गरेको पछिल्लो ट्रेनले देखाएको नेपाल प्रहरीले जनाएको छ ।

केही समय अघिसम्म नेपालबाट गाँजा र चरेस,युरोप अमेरिका लगायत विकसित राष्ट्रमा तस्करी हुने गरेको भए पनि अहिले भने विदेशबाट गाँजा लगायतका लागुऔषध ल्याउन नेपालको विमानस्थल प्रयोग हुन थालेकाले यसको नियन्त्रणका लागि प्रहरीले आफ्नो सबै संयन्त्र परिचालन गरेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुवेर कठायतले बताउनु भयो ।

यसअघि नेपालमा उत्पादन भएका गाँजा तथा चरेसको माग विदेशमा बढी हुने र त्यसको तस्करी नेपालबाट हुने गरेको भए पनि अहिले भने नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्ने गरेको पाइएको लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले जानकारी दिनु भयो ।

अन्तर्राष्ट्रिय लागुऔषधका तस्करहरूले नेपाललाई कोकिन ओसारपसार गर्न ट्रान्जिटका रूपमा प्रयोग गर्ने गरेकाले त्यसलाई निस्तेज पार्न प्रहरीले अभियानलाई तीव्र बनाएको उहाँले जानकारी दिनु भयो।

ब्युरोको टोलीले शनिबार अमेरिकाबाट अवैध रूपमा नेपालको बाटो हुँदै भारततर्फ तस्करी गर्न ल्याउँदै गरेको ५५ केजी गाँजा बरामद गरेपछि नेपाललाई तस्करहरूले ट्रान्जिटका रूपमा प्रयोग गर्न थालेको प्रहरीको ठम्याई छ ।

त्यसो त नेपालमा गाँजा र चरेस अत्यधिक मात्रामा उत्पादन हुन्छ । तर नेपालमा उत्पादित गाँजामा नशाको मात्रा ५ देखि ६ प्रतिशत मात्रै हुने र अमेरिकामा उत्पादन हुने गाँजामा नशाको मात्रा २४ देखि २५ प्रतिशत रहने भएकाले नेपाललाई ट्रान्जिटका रूपमा प्रयोग गर्ने गरेको पछिल्लो अनुसन्धानले देखाएको छ ।

गाँजाको सेवन तथा कारोबारलाई अमेरिकाको विभिन्न राज्यमा वैधानिकता दिएकाले लागुऔषधका तस्करहरूले साना साना मात्रामा गाँजा संकलन गर्ने र त्यसलाई एकत्रित गरेपछि विभिन्न सामानमा कार्गो गरेर नेपाल हुँदै फेरि भारत लगायतका मुलुकहरूमा पठाउने गरेको पाइएको हो ।

पछिल्लो समयमा राजनितिक खिचातानीको कारण नेपालको कमजोर सुरक्षा प्रणाली र पहुँच वालाहरुको गिरोहका तस्करहरुले उन्मुक्ती पाईरहेकाले पनि लागुऔषधका तस्कर तथा सुनको अवैध ओसारपसार गर्ने गिरोह सक्रिय भएको निष्कर्षमा पुर्व प्रहरी अधिकारीहरू पुगेका छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस