आज:  | Tue, 07, Jan, 2025

नयाँको ५५ हजार,पुरानोको ४० हजार लिएर नक्कली भिसामा विदेश पठाउने अध्यागमनका दुई अधिकृत सहित३२जना पक्राउ

२८ मंसिर २०८०, बिहीबार ०८:२५ मा प्रकाशित ( १ साल अघि) ८१५ पटक पढिएको
नारी बाटिका


काठमाडौँ २८ मंसिर ।

नयाँको रु,५५ हजार र पुरानो रु ४० हजार पिैसा लएर नक्कली भिजिट भिसामा विदेश पठाउने अध्यागमन विभागका दुई अधिकृत सहित ३२ जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले नक्कली कागजात तयार गरी भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गर्ने गरेको आरोपमा दुई अधिकृत सहित ३२ जनालाई वुधबार पक्राउ गरेको हो ।

नेपाल सरकारका बालवाला सरकारी कर्मचारी समेतको संलग्नतामा ट्राभल एजेन्सी सञ्चालक सहित गरी ३२ जनालाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्र सिंह राठौरले वुधबार पत्रकार सम्मेलनमा जानकारी दिनु भयो ।

उहाँका अनुसार गत असोज १९ गतेदेखि हालसम्म नक्कली कागजपत्र बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहका ३२ जनालाई पक्राउ गरी आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको बताउनु भएको छ ।

हिजो पक्राउ पर्नेमा नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत कर्मचारी अरविन्द यादव र अध्यागमन विभागमा कार्यरत अर्का अधिकृत कर्मचारी नरवीर खड्का रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिनु भयो ।

उहाँका अनुसार पक्राउ परेका सरकारी बहालवाला अधिकृतहरुले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर पैसा लिने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

यस भन्दा पहिले पनि नेपाल वायुसेवा निगममा कार्यरत अधिकृत होमनाथ पोखरेललाई सोही आरोपमा प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको प्रवक्ता तथा प्रहरी उपरीक्षक रेग्मीले बताउनु भयो । उहाँ भन्नु हुन्छ, “त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले सङ्कलन गरेर पठाएका एक हजार ३२ थान भिसा सहितका कागजातबाट अनुसन्धान गर्दा गिरोहले पर्यटक भिसाका लागि फर्जी कागजात बनाई विदेश पठाउने गरेको खुल्न आएको थियो ।”

यस प्रकरणमा पक्राउ परेकाहरु मध्ये कन्सल्टेन्सी सञ्चालक छ जना, नेपाल प्रहरीका एकजना, पूर्वप्रहरी एकजना, एयरलाइन्सका दुईजना र अन्य ११ जना रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

पक्राउ परेका ३२ जनामध्य नौजनामाथि सङ्गठित अपराधमा र १२ जनामाथि लिखत सम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ । यसअघि पक्राउ परेका आठजना भने धरौटीमा छुटिसकेका छन् ।

ट्राभल एजेन्सीका सञ्चालकहरुमा वन्ट्रा ट्रिप अनलाइन ट्राभल्सका सञ्चालक मनुराज चौधरी, एचआर टुर्स एन्ड ट्राभल्सका सञ्चालक रामप्रसाद भण्डारी, होलिडेज एन्ड ट्राभल्सका सञ्चालक सरोज यादव, एसकेजे ट्राभल्सका सञ्चालक दिनेश ज्ञवाली, रिलेभेन्ट ट्राभल्सका सञ्चालक देवराज खनाल र एड्भान्स म्यानेजमेन्ट मल्टी ट्रेनिङ सेन्टरका सञ्चालक गणेश पाण्डे पक्राउ परेका छन् ।

नक्कली कागजात मिलाए बापत ट्राभल एजेन्सीहरुले प्रतिव्यक्ति १५ हजार लिने गरेका र अध्यागमन विभागका कर्मचारीहरुले नयाँको हकमा रु ५५ हजार र पुरानो (एकपटक विदेश पुगेर फर्किएका) हरुको हकमा भने रु ४० हजार लिने गरेको अनुसन्धानका क्रममा खुलेको प्रवक्ता रेग्मीले जानकारी दिनु भयो ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%३%२%१%

प्रतिक्रिया दिनुहोस