आज:  | Mon, 23, Dec, 2024

इटालीको भ्रमण सम्पन्न गरी प्रधानमन्त्री दाहाल आज स्वदेश फर्कँदै

१२ श्रावण २०८०, शुक्रबार १२:३२ मा प्रकाशित ( १ साल अघि) १३३१ पटक पढिएको
नारी बाटिका


धादिङ,१२ साउन ।

इटालीको भ्रमण सम्पन्न गरी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्कँदै हुनुहुन्छ । संयुक्त राष्ट्रसङ्घ, खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै उहाँ यही साउन ६ गते त्यस तर्फ प्रस्थान गर्नु भएको थियो ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्दै जलवायु परिवर्तन र अन्य प्रकोपको सामना गर्दै अनुकूलन क्षमता सुदृढ गर्न अतिकम विकसित देशहरूको कृषिमा लगानी बढाउनु जरुरी रहेको बताउनु भएकोे थियो ।

कार्यक्रमकै क्रममा उहाँले ‘युनाइटेड नेसन्स फुड सिस्टम–२०२३ स्टकिङ मोमेन्ट’लाई पनि सम्बोधन गर्नु भएको थियो । सो अवसरमा दाहाले नेपालमा लागू गरिएको विद्यालय खाजा कार्यक्रम विद्यार्थीको स्वास्थ्य र समग्र शैक्षिक सुधारका लागि प्रभावकारी भएको बताउनु भएको थियो ।

रोममा रहँदा प्रधानमन्त्री दाहाल र बङ्गलादेशी समकक्षी शेख हसिनाबीच द्विपक्षीय भेटवार्ता भएको थियो । भेटवार्तामा उहाँहरूबीच द्विपक्षीय हित र चासोका बारेमा छलफल भएको थियो । उहाँहरूबीच कृषि र जलविद्युतका क्षेत्रमा क्षेत्रीय सहयोग र सहकार्यका लागी विविध विषयमा महत्त्वपूर्ण छलफल भएको थियो ।

संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालयमा प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको थियो । भेटका क्रममा उहाँहरूबीच पर्यावरण, खाद्य सुरक्षा र नेपाल र राष्ट्रसङ्घबीचको सम्बन्धलाई अझ मजबुत बनाउने बारे छलफल भएको हो ।

सो अवसरमा प्रधानमन्त्री दाहाल र विश्व खाद्य कार्यक्रमका कार्यकारी सिन्डे म्याकनबीच भेटवार्ता भएको थियो । भेटका क्रममा खाद्य सुरक्षा, गरिबी निवारण, महिला तथा मानवीय जीवनको स्तरोन्नतिलगायत विषयमा छलफल भएको थियो ।

प्रधानमन्त्री दाहालसँग विश्व खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक क्यू डोङग्यू तथा इन्टरनेसनल फन्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आइएफएडी)का प्रमुख एल्भारो लाइरोले बेग्ला–बेग्लै भेटवार्ता गर्नु भएको हो । रोममा रहँदा प्रधानमन्त्री दाहाल गैर आवासीय नेपाली सङ्घ इटालीले आयोजना गरेको स्वागत समारोहमा सहभागी हुनु भएको थियो ।

कार्यक्रममा उहाँले वर्तमान सरकारले सामाजिक न्याय, सुशासन, विकास निर्माण र समृद्धिको पक्षमा नयाँ अभियान सञ्चालन गरेको बताउनु भएको छ । भ्रमणै क्रममा दाहालले नेपाली प्रगतिशील मञ्च इटाली, बेल्जियम, स्पेन, क्रोसिया, पोर्चुगल, अष्ट्रिया र आयरल्यान्डका प्रतिनिधिसँग छलफल समेत गर्नु भएको थियो ।

भ्रमणको अवसरमा उहाँले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमा दृढताका साथ अगाडि बढेको बताउनुभएको थियो । प्रधानमन्त्री दाहाल नेतृत्वको भ्रमण टोलीमा उहाँका स्वकीय सचिव एवं छोरी गङ्गा दाहाल, कृषि तथा पशुपक्षी विकास मन्त्री डा.बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा जयकान्त राउत, सुरक्षा कर्मी एवं सञ्चारकर्मी लगायतको सहभागी भएका थिए ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
१%

प्रतिक्रिया दिनुहोस