आज:  | Sat, 19, Apr, 2025

बलात्कार पछी हत्या भएकी निर्मलाको घटना पाँच वर्ष बित्यो,अहिले सम्म न्याय पाउन सकिनन्

११ श्रावण २०८०, बिहीबार १४:२५ मा प्रकाशित ( १ साल अघि) ४७९६ पटक पढिएको
नारी बाटिका


काठमाडौै,११ साउन ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा घिनलाग्दो चर्चाको विषय बनेको कञ्चनपुर भीमदत्त नगरपालिका(उल्टाखामकी) १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज पाँच वर्ष पुगेको छ । तर अझै पनि पिडितले न्याय पाउन सकेका छैनन् । मुद्धाको टुङ्गो पनि लागेको छैन ।.

उक्त घटना विसं २०७५ साउन १० गते साथीको घरमा साथी संगै बसेर विद्यालयमा दिएको पाठ गर्न गएकी बालिका पन्तको शव साउन ११ गते नजिकैको उखुबारीमा भेटिएको थियो । शव परीक्षणमा उनको बलात्कारपछि हत्या भएको पुष्टि भएको थियो ।

उक्त घटनापछि दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग राखी देशभर आन्दोलन भएको थियो । साथै यस मुद्दा अन्तर्राष्ट्रिय स्तरमा पनि चर्चाको विषय बनेको थियो । यस घटनामा सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्नुका साथै राष्ट्रिय मानव अधिकार आयोग र प्रहरीले विभिन्न छुट्टै छुट्टै छानबिन समिति समेत गठन गरिएको थियो । तरपनि अझैसम्म प्रहरीले अपराधीको सम्म पनि गर्न सकिरहेको छैन।

राष्ट्रिय तथा अन्तर्राष्टिय चासोको विषय बनेको यस घटनामा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कमल थापाले भने निर्मला पन्त हत्या प्रकरणमा प्रहरीले प्राथमिकतामा साथ अनुसन्धान गरिरहेको बताउनु हुन्छ ।“अहिले पनि घटनाको निरन्तर अनुसन्धान भइरहेको छ”, उहाँले भन्नु भयो, ।

यस्तै जिल्ला प्रहरी र सिआईबीको टोली दुवै मिलेर अहिले पनि अनुसन्धानमा खटिएको छ।” प्रहरीले अहिले पनि घटनामा शङ्कास्पद व्यक्तिलाई निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ भन्ने गरेका छन्।

यस घटनाको दोषी पत्ता लगाउन प्रहरीले अहिलेसम्म एक सय २३ जनाको डीएनए परीक्षण गरिसकेको छ । निर्मलाको न्यायका लागि सडकदेखि सदनसम्म चर्का आवाज उठ्यो । न्यायको लडाइका लागि निर्मलाका आमाबुवा महेन्द्रनगरदेखि काठमाडौँसम्म वर्षौ धाए तर पनि अहिले सम्म न्याय पाउन सकेका छैनन् ।

घटना भएको एक महिनापछि २०७५ भदौ ४ मा जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका– १९ बागफाटाका दिलीप विष्टलाई सार्वजनिक गरेको थियो । अभियुक्त भनिएका विष्ट मानसिक रोगी भएको र प्रहरीले फसाउन खोजेको भन्दै यहाँ आन्दोलनले उग्ररुप लिएको थियो । पछि विष्ट सरकारी वकिलको कार्यालयबाट रिहा भएका थिए ।

 

तस्वीर : सामाजिक संन्जालबाट साभार

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस