आज:  | Tue, 07, Jan, 2025

हुलाकका कर्मचारीद्धारा धादिङमा कार्यालय परिसरमा विरोध सहित धर्ना

६ असार २०८०, बुधबार १९:५० मा प्रकाशित ( १ साल अघि) १४९९ पटक पढिएको
नारी बाटिका


धादिङ,०५ असार ।
सरकारले चालु आव २०८०।०८१ को बजेट भाषणमा देशभरको अतिरिक्त हुलाक कार्यालय खारेख गरी प्रदेश हुलाक कार्यलयबाट संन्चालन गरिने कार्यक्रम ल्याएपछी हाल देशभरका उक्त कार्यलयमा कार्यरत कर्मचारीहरुले आपत्ती जनाइरहेका छन् । सरकारको उक्त कदमप्रति विरुध जनाउदै देश ब्यापी रुपमा अतिरित्त हुलाक कर्मचारीहरु विरोधमा उत्रिएका हुन् ।

त्यस्तै धादिङमा पनि हुलाकमा कार्यरत कर्मचारीहरुले मंगलवार विरोध सहित कार्यलयकै परिसरमा धर्ना बसेका थिए । सरकारले बजेट भाषण मार्फत देशभरका अतिरिक्त हुलाक खारेज गर्ने घोषणा गरेसँगै धादिङका कर्मचारीहरु आन्दोलित भएका हुन् ।

कर्मचारीहरुले अतिरिक्त हुलाक खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका छन् । फिर्ता नलिए सरकार विरुद्ध अझै कडा आन्दोलन गर्ने कर्मचारीहरुले चेतावनी समेत दिएका छन् । सरकारले अन्य कार्यलयका राष्ट्रसेवक कर्मचारीको तलव सुविधा बृद्धि गरिरहँदा अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीलाई असमान र अन्याय पूर्ण व्यवहार गरेको आरोप पनि लगाएका छन् ।

मुलुकको आगामी आर्थिक वर्ष २०८०र०८१ को बजेट वक्तव्यको बुदा नं. ३७४ मा उल्लेखित अतिरिक्त हुलाक खारेज गर्ने भन्ने निर्णय प्रति अतिरिक्त हुलाक एशोशीएसन धादिङले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

समय सापेक्ष अतिरिक्त हुलाक स्तरोन्नती र आधुनिक व्यवस्थापन गर्नुको सट्टा खारेजीको निर्णयले कर्मचारीलाई आन्दोलित बनाएको एशोशीएसन धादिङका अध्यक्ष बुद्धिराज थपलियाले बताउनु भयो ।

अतिरिक्त हुलाक कार्यालयमा हुलाक प्रतिनिधि, हुलाकपत्र वितरक र डाक वाहक भन्ने तीन तहमा कर्मचारीहरु कार्यरत छन् । हुलाक प्रतिनिधिले आठ हजार तीन सय १० रुपैँया तलव पाउँछन् भने वितरक र डाकवाहकले मासिक सात हजार दुई सय ७५ रूपैयाँ तलव पाउँछन् । राज्यले अहिले ती कर्मचारीहरूलाई घर न घाट बनाउन लागेको कर्मचारीहरुले आरोप समेत लगाएका छन् ।

त्यस्तै धादिङ जिल्लामा ३७ ओटा अतिरिक्त हुलाक छ । एक सय ३३ जना कर्मचारी छन्। जिल्ला हुलाक कार्यालय मार्फत सेवा सुविधा लिँदै आएका छन् । कार्यालय खारेज गर्ने नै भएपनि उचित सम्मान सहित कर्मचारीलाई विदाई गर्नुपर्ने उनिहरुको माग रहेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस