आज:  | Sun, 08, Sep, 2024

असार १ देखि जिप र माइक्रो बस गोँगबु स्थित नयाँ बसपार्क भित्रबाट सञ्चालन हुने

३० जेष्ठ २०८०, मंगलवार १८:२० मा प्रकाशित ( १ साल अघि) ८६२ पाठक संख्या
नारी बाटिका


आगामी असार १ गतेदेखि जीप र माइक्रोबस गोँगबु स्थित नयाँ बसपार्क भित्रबाट सञ्चालन हुने भएका छन् । माइक्रोबस तथा जिप समन्वय समितिले आज पत्रकार सम्मेलन गरी आगामी शुक्रबार देखि जिप र माइक्रोबस नयाँ बसपार्क भित्रबाट सञ्चालन गर्न लागिएको जानकारी दिएको हो ।

समितिका संयोजक राजेन्द्र आचार्यले यसअघि काठमाडौँ भित्रका विभिन्न स्थानबाट सञ्चालन हुँदै आएका माइक्रो बस र जिपलाई असार १ गतेदेखि गोँगबुदस्थित नयाँ बसपार्क भित्रबाट सञ्चालन गर्न लागिएको जानकारी दिएका छन् ।

यही जेठ १९ गते काठमाडौँ महानगरपालिकाले लामो, मध्यम तथा छोटो दूरीका सार्वजनिक सवारी साधन नयाँ बसपार्क भित्रबाट सञ्चालन गर्ने निर्णय भई कार्यान्वयनका लागि नयाँ बसपार्क भित्रबाट सञ्चालन गर्न पत्राचार भए अनुसारको लागु गर्न लागिएको संयोजक आचार्यले बताएका छन् ।

उक्त निर्णय सरोकारवाला सबै निकायलाई लागू गराउन महानगरपालिका लाग्नुपर्छ, “स्थानीय सरकारले गरेको निर्णय मान्न हामी तयार छौँ । स्थानीय सरकारले कसैलाई काखा र कसैलाई पाखा गर्नु हुदैन”, उहाँको भनाइ रहेको थियो । यसअघि नयाँ बसपार्कबाट ठूला सार्वजनिक सवारी साधन मात्र सञ्चालन हुँदै आएका थिए ।

बल्खु, कलङ्की, बालाजु, माछा पोखरी, गोँगबु, कोटेश्वर लगायतका क्षेत्रमा काउण्टर राखेर यसअघि माइक्रोबस तथा जिप सञ्चालन हुँदै आएका थिए । अब भने सबै टिकट काउण्टर बसपार्क भित्र राखिने भएकाले सोही स्थानमा आएर टिकट लिन समेत उहाँले यात्रुलाई आग्रह समेत गर्नु भयो ।

हाल काठमाडौँबाट पोखरा, नारायणगढ, डुम्रे, दमौली, लमजुङ, गोरखा, धादिङ, त्रिशूली बागलुङ, वेनी, स्याङ्जा, वालिङ, बुटवल, भैरहवा, कोटेश्वरबाट बिपी राजमार्ग हुँदै पूर्व जाने माइक्रोबस र बल्खुबाट हेटौँडा चल्ने टाटा सुमो सञ्चालन हुँदै आएका छन् ।

नयाँ बसपार्क भित्रबाट माइक्रो बस तथा जिप सञ्चालन गर्न नयाँ बसपार्क सञ्चालन गर्दै आएको लोत्से बहुृउदेश्यीय प्रालि सँग समेत सम्झौता गरिसकेको संयोजक आचार्यले बताउनु भयो । “नेपालको यातायात क्षेत्रलाई व्यवस्थित र यात्रु मैत्री बनाउन आवश्यक पर्ने संरचना निर्माणका लागि लोत्से प्रा.लि.सँग सहकार्य गरेर अगाडि बढेका छौँ” संयोजक आचार्यले भनेका छन् ।

यात्रुको सुविधाका लागि यसअघि सञ्चालन हुँदै आएका क्षेत्रमा निश्चित समय सम्म ‘पिक एण्ड ड्रप’को व्यवस्था गर्न समेत नयाँ बसपार्कबाट माइक्रोबस तथा जिप सञ्चालन गर्दै गर्दा महानगरपालिका सँग उनले आग्रह गरेका छन् ।

काठमाडौँ उपत्यकाभित्र प्रवेश गर्ने सार्वजनिक सवारी साधनलाई व्यवस्थित रुपमा पार्किङ गर्न महानगरपालिकाले विगत२०५६ मा ल्होत्से बहुउद्देश्यीय प्रालि सँग सम्झौता गरी नयाँ बसपार्क सञ्चालनमा ल्याएको थियो । एक सय ६१ रोपनी क्षेत्रफलमा फैलिएको नयाँ बसपार्कमा आठ सय भन्दा बढी सार्वजनिक सवारी साधन राख्न मिल्ने क्षमता रहेको छ ।

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस