आज:  | Sat, 23, Nov, 2024

रास्वपा सभापति रवी लामिछानेद्वारा चितवन २ बाट उम्मेदवारी दर्ता

२० चैत्र २०७९, सोमबार १२:५८ मा प्रकाशित ( १ साल अघि) ४२२ पाठक संख्या
नारी बाटिका


काठमाडौँ ।
आगामी वैशाख १० मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागी चितवन(२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेद्वारा उम्मेदवारी दर्ता गराउनु भएको छ । आज बिहान १० बजे मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनु भएको थियो । चितवन क्षेत्र नं २ बाट सभापति लामिछानेले उम्मेदवारी दर्ता गर्नु भएको हो ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले निर्वाचन स्वच्छ र स्वस्थ प्रतिस्पर्धामा होस् भन्ने चाहना रहेको बताउनु भएको छ । प्रतिनिधिसभाको निर्वाचन भएको चार महिनापछि निर्वाचन हुनु दुःखद् भएको बताउनु भयो । आफू निर्वाचनका लागि उत्साहित भएको उहाँको भनाइ रहेको थियो ।

निर्वाचनलाई निर्वाचनकै रुपमा लिएको बताउँदै, उहाँले आफू निर्वाचित हुनेमा आशावादी र उत्साहित समेत रहेको बताउनु भयो । उहाँको प्रस्तावकमा सीता ज्ञवाली र समर्थकमा विक्रम श्रेष्ठ हुनुहुन्छ ।

मुलुकको समृद्धि, सुशासन, राजनीतिमा एउटा शुद्धता, आगामी पुस्ताको सुन्दर भविष्य कोर्न तथा लोकतन्त्रका लागि आफ्नो उम्मेदवारी रहेको उहाँको दाबी रहेको छ । लामिछानेले उपचुनाव हुनुमा आफूले पनि नैतिक जिम्मेवारी लिने बताउनु भयो । “उपचुनाव हुनुमा मेरो भागमा परेको जिम्मेवारी म लिन तयार छु”, भन्नु भएको छ ।

नागरिकता प्रकरणमा आफू उम्मेदवार हुन नपाउने भन्ने तर्क गलत भएको भन्दै उहाँले भन्नुभयो, “मैले अमेरिकाको नागरिकता सन् २०१८ मै त्यागेको हुँ । त्यसरी त्यागेको मितिले तीन महिना संविधानमा भनेकाले त्यस कुराले मलाई केही असर गर्दैन ।”

उपनिर्वाचनका लागि चितवन क्षेत्र नं २ मा उमेदवारी दर्ता गर्ने उहाँ पहिलो भएको सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिनु भयो । लामिछाने यसअघि गत मंसिरमा समपन्न प्रतिनिधिसभा निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट विजयी हुनु भएको थियो ।

नागरिकता प्रकरणमा सर्वोच्च अदालतको फैसलाले उहाँको सांसद पद गुमेपछि यस क्षेत्रमा पुन ः उपनिर्वाचन हुन लागेको हो । गत चुनावमा लामिछानेले ४९ हजार दुई सय ६१ मत प्राप्त गर्नु भएको थियो । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उमेश श्रेष्ठले १५ हजार ९९ र नेकपा (एमाले)का कृष्ण भक्त पोख्रेलले १४ हजार छ सय ४९ मत प्राप्त गर्नु भएको थियो ।

यसपटक चितवन क्षेत्र नं २ मा एक लाख २४ हजार छ सय ९५ जना मतदाता रहेका छन् । मतदाताहरुले ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गर्ने छन्।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस