आज:  | Sat, 23, Nov, 2024

यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदाय मङ्किपक्स भाइरसको उच्च जोखिममा

२२ श्रावण २०७९, आईतवार ०९:१७ मा प्रकाशित ( २ साल अघि) २३१ पाठक संख्या
नारी बाटिका


काठमाण्डौं –विश्वका ८० भन्दा धेरै मुलुकमा देखिएको मङ्किपक्स भाइरसका कारण नेपाल उच्च जोखिममा रहेको सरकारले चेतावनी दिएको छ ।

छिमेकी मुलुक भारतमा पछिल्लो समय मङ्किपक्स भाइरसका कारण एकजनाको मृत्यु भइसकेको छ भने नेपालमा जुनसुकै बेला भित्रन सक्ने चेतावनी विश्व स्वास्थ्य सङ्गठनले दिइसकेको छ । विश्वमा मङ्किपक्सको हालसम्मको तथ्याङ्कलाई केलाउँदा ९८ प्रतिशत बिरामी समलिङ्गी समुदायका भेटिएका छन् ।

तर, नेपालमा जोखिममा रहेका व्यक्तिमा यसबारेमा पर्याप्त सूचना पुग्न नसकेको यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको क्षेत्रमा काम गर्ने संस्था नील हिरा समाजका अध्यक्ष पिङ्की गुरुङले बताउनुभयो । नेपालमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको सङ्ख्या कति छ भन्ने एकिन तथ्याङ्क नभए पनि यस क्षेत्रमा काम गर्ने सङ्घसंस्थाले ९ लाख जनसङ्ख्या रहेको दावी गर्दै आएका छन् ।सरकारले जोखिम उच्च रहेको भन्दै देशभरका १६ अस्पतालमा मङ्किपक्सको उपचारका लागि विशेषज्ञ विज्ञ तोकेको छ ।

भेरी अस्पताल नेपालगञ्जका प्रमुख एवं मङ्किपक्सका लागि फोकल पर्सन डा.बद्री चापागाईंले हालसम्म नेपालमा यो भाइरस पुष्टि नभइसकेकाले कुन समुदाय यसबाट बढी प्रभावित हुने हो भन्ने अहिले नै भन्न सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले हालसम्म विश्वभरको तथ्याङ्कको आधारमा समलिङ्गि पुरुषहरू यसबाट बढी प्रभावित देखिएकाले उनीहरू यसको उच्च जोखिममा रहेको बताउनुभयो । डा.चापागाईँले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक मात्रै नभइ अन्य समुदायका व्यक्तिपनि मङ्किपक्सको जोखिममा रहेकाले सबैतले सतर्कता अपनाउनुपर्ने बताउनुभयो ।

सरकारले भने जोखिममा रहेका समुदाय र व्यक्तिहरूसँग समन्वय र सुसूचित बनाउने कार्यक्रम चलिरहेको दावी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले सरकारले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको हकमा काम गर्ने संस्थासँग मिलेर जनचेतना फैलाउने, समन्वय गरेर सुसूचित गर्ने काम गरिरहेको बताउनुभयो ।

व्यक्तिको शरीरबाट निस्कने ¥याल, तरल पदार्थ अर्को व्यक्तिको शरीरमा प्रवेश गर्दा वा बाह्य र आन्तरिक संसर्गका माध्यमबाट मङ्किपक्स भाइरस सने गरेको चिकित्सकहरूले बताएका छन् ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस