आज:  | Sat, 23, Nov, 2024

निर्वाचन आयोग द्धारा १७ जिल्लामा केन्द्रीय अनुगमन टोली खटायो

२५ बैशाख २०७९, आईतवार ०७:२८ मा प्रकाशित ( २ साल अघि) ३२८ पाठक संख्या
नारी बाटिका


काठमाण्डौ –निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको लागि १७ जिल्लामा केन्द्रीय अनुगमन टोली खटाएको छ ।

तुलनात्मकरूपमा बढी मतदाता भएका र सुरक्षाको दृष्टिले संवेदनशील मानिएका जिल्लामा केन्द्रीय अनुगमन टोली खटाइएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले विभिन्न मन्त्रालय र निकायमा कार्यरत सहसचिवको नेतृत्वमा विभिन्न १७ जिल्लामा टोली खटाइएको हो । टोलीले उम्मेदवारको खर्चको सीमा, आचारसंहिताको पालना, विश्वसनीयता लगायतका विषयमा अनुगमनको जिम्मेवारी पाएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिता कार्यान्वयनको अनुगमन गरी कुनै निर्णय वा कारबाही गर्नुपरेमा त्यस्तो निर्णय वा कारबाही गर्न सक्ने अख्तियारी टोलीलाई दिइएको बताउनुभयो । उहाँले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत चुनाव सम्पन्न गर्न कुनै पनि आग्रह—पूर्वाग्रह नराखि ऐन, कानुनबमोजिम प्रभावकारी अनुगमन गर्न निर्देशन समेत दिनुभएको छ ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले आचारसंहिता विपरीत दल र उम्मेदवारले झण्डा, गाडी प्रयोग गरेमा, अनधिकृत सामानको ओसारपसार वा रकम वितरण गरेको पाइएमा तत्काल कारबाही गर्न वा कुनै समस्या परेमा आयोगलाई तत्काल जानकारी गराउन पनि आग्रह गर्नुभएको छ ।

उहाँ मतदान वा मतदानपछि हुने गणना बिथोल्ने प्रवृत्ति देखिएमा जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालयलगायत निकायसँग समन्वय गरी सहजीकरण र समन्वय गर्न पनि टोलीलाई आग्रह गर्नुभएको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस