आज:  | Thu, 28, Mar, 2024

देशभर चिसो बढ्यो, काठमाण्डौसहित धेरै ठाउँमा बाक्लो हुस्सु

१६ पुष २०७८, शुक्रबार १०:२० मा प्रकाशित ( २ साल अघि) ५३० पाठक संख्या
नारी बाटिका


काठमाण्डौ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको छ । बिहानैदेखि देशका धेरै ठाउँमा बाक्लो हुस्सु, कुहिरो लागेको मौसमविद् समिर श्रेष्ठले जानकारी दिनुभयो। उहाँकाअनुसार उपत्यकासहित पहाडी क्षेत्रमा लागेको हुस्सु बिस्तारै हटेर घाम लाग्ने सम्भावना छ । तर, तराईका जिल्लामा लागेको हस्सु, कुहिरो हट्न समय लाग्ने छ ।
बाक्लो हुस्सुका कारण तराईमा कठ्याङ्ग्रिँदो चिसो छ । हिउँदे वर्षा र हिमपातले चिसो झनै बढाएको छ । चिसो भगाउन आगो ताप्ने तथा हिटर जस्ता विद्युतीय उपकरणको प्रयोग बढेको छ । तर, असावधानीका कारण यसरी तातो न्यानो हुन खोज्दा ज्यानै जोखिम धेरै हुन्छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, तातो पानीका लागि ग्याँस गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन अपिल गरेको छ । मन्त्रालयले सूचना निकालेर हावा ओहोरदोहोर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा ग्याँस गिजर प्रयोग गर्न आग्रह गरेको हो ।
मन्त्रालयले कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न पनि अनुरोध गरेको छ । यसैगरी मन्त्रालयले आगो तापिसकेपछि त्यसलाई पूरै निभाउन, हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्न, सुत्नुअघि अनिवार्यरूपमा हिटर निभाउन आग्रह गरेको छ । चिसोका कारण स्वास्थ्य समस्या देखा परे तत्काल स्वास्थ्य संस्थामा सम्पर्क राख्न समेत मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

प्रतिक्रिया दिनुहोस