आज:  | Thu, 28, Oct, 2021

९१ वर्षमा हिमाल चढ्नेको यात्रा

३ पुष २०७७, शुक्रबार ०६:४३ मा प्रकाशित ( १0 महिना अघि) ३४६ पाठक संख्या
नारी बाटिका

जिन्दगी पहाड भएको थियो । जब मनमस्तिष्कमा पनि निमोनिया सवार थियो, तब शरीरको हाल कस्तो थियो ? नसोध्नुस् । शरीर बिरामी हुँदा सम्हाल्न पनि सकिन्छ होला । तर जब रोग मनमस्तिष्कसम्म पुुग्छ तब आश पनि बिस्तारै कमजोर हुँदै जान्छ । ती महिलासँग यही भइरहेको थियो । रोग नै त्यस्तो खतरनाक थियो । अमेरिकामा निमोनियाका कारण आज पनि धेरैले ज्यान गुमाउँछन्, त्यतिबेला त थप धेरै मानिस हार्थे । सास लिँदा फोक्सोले जबाफ दिन थाल्थ्यो । सासभित्र गयो, तब पीडा । बाहिर आयो, तब थप पीडा । पीडासँग यस्तो सम्बन्ध बनिसकेको थियो कि मृत्युले निशाना बनाइरहेको छ भन्ने लाथ्यो । जब डाक्टर पति नजिक हुन्थे तब के लाग्थ्यो भने कसैले जीवन थामिरहेको छ र छोड्नेछैन । तर जब पति दूर हुन्थे तब दिमागले सोध्न थाल्थ्यो– ‘अब अलबिदा गर्ने समय भइसकेको हो । अवस्था नियन्त्रणबाहिर गएको देखिरहेका पतिले एक दिन सम्झाउने प्रयत्न गरे । निराश पत्नीका काँपिरहेका औँला समाउँदै उनले बिस्तारै भने, ‘तिमी लड, तिमीले जित्नेछौ । तिमी ओछ्यानमा छौ ? हेर, बाहिर दुनियाँ बढिरहेको छ । पन्छी उडिरहेका छन् । रूख खडा छ । तिम्रो पछाडि हरियाली छ । झरना बगिरहेका छन् । पहाडबाट कसैले पुकार्दैछ । उठ, हिँडेर त देखाऊ । सबैलाई तिमी बाँच्न चाहन्छौ भन्ने थाहा होस् । केही समयकै लागि भए पनि उठेर बाहिर निस्किएर सबैलाई देख्नेछौ, तब तिमीलाई राम्रो लाग्नेछ ।

पतिले सम्झाएपछि केही हिम्मत आयो तर डर र थकानमुक्त हुन सहज थिएन । रगतको कमी बढ्दो अवस्थामा थियो । तर यो एक्लो भएको महसुस त थिएन । उठेर हिँड्न कमी–कमजोरीको एउटा पूरा सिलसिलासँग जुध्नुपर्ने थियो । तमाम कमजोरीलाई टाढा राखेर सुधारतर्फ एकएक कदम चल्नुुथियो । सबैभन्दा पहिले कोठाबाट निस्किएर बाहिर नियाल्नु जरुरी थियो ताकि केही तागत मिलोस्, मन–मस्तिष्कलाई रोगसँग लड्न लायक बनाउन सकियोस् । बाहिरको संसार निकै सजिएको थियो । कोही दिनरात ओछ्यानमा बस्दैमा यो संसारलाई के फरक पर्छ र ? सूूर्य त सधैँ उदाउँछ नै । तर कसैले झ्याल–ढोका बन्द गर्छ भने त उसलाई अँध्यारोबाट कसले बचाउन सक्छ ? अमेरिकामा एकसेएक सुन्दर पहाड छन् र कसैले उनीहरुलाई नजर लगाएन भने पनि पहाडको के नै जान्छ र ? प्रकाशलाई सजाउनुछ र पहाडलाई एक टकले हेर्नुछ भने उठेर अघि बढ्नैपर्छ ।

चौथो दशकमा जिन्दगी चलिरहेको छ । तर न कसरतको बानी छ न अकाङ्क्षा नै । यसैको भारी मूल्य अहिले निमोनियाले उठाइरहेको छ । भो पुुग्यो, अब त बाहिर निस्कनैपर्छ । उनी उठेर हिँड्न थालिन् तर घरकै आँगनमा केही कदम अघि बढ्नासाथ दम फुल्न थाल्यो । अरू हाँसेको देखेर कति दुःख लाग्थ्यो भने उनी आफू हिँडेको समय कसैले नदेखून् भनेर सोच्थिन् । बारम्बार थाक्ने, बारम्बार उठ्ने र हिँड्ने । बिस्तारै अभ्यास बढ्दै गयो । घर आसपासका जमिनमा हिँड्न थालिन् । जब उनी ५४ वर्षकी भइन् तब उनका श्रीमान् डाक्टर स्यामुअल क्रुक्स (जो एनाटोमीका प्रोफेसर थिए) बिते । हिँड्न प्रेरित गर्ने पति गुुमेपछि हिँड्नका लागि थप विवश भइन् । साना पहाडहरुमा हिँड्ने सिलसिला सुरु भयो । यसपछि एक दिन त्यस्तो पनि आयो, जब ६६ वर्षको पाको उमेरमा यी महिलाले अमेरिकाको त्यस समयको सबैभन्दा उचो पर्वत स्पर्श गरिन् । उनले क्यालिफोर्नियामा १४ हजार ५ सय फिट उचाइको माउन्ट ह्विट्नी चढिन्, त्यसपछि मानिसले यस पर्वतलाई नै ‘हजुुरआमा ह्विटनी’ भन्न थाले ।

केही वर्ष हिँडेपछि हिँड्नभन्दा दौडन मज्जा हुन्छ भन्ने यी महिलालाई थाहा भयो । उनले ७० वर्षको उमेरमा दौडन थालिन् । यसपछिका २० वर्षसम्म झन्डै प्रत्येक वर्ष उनले माउन्ट ह्विटनी आरोहण गरिन् । ९१ वर्षको उमेरसम्म आइपुुग्दा उनले २३ पटक यो पवर्तन चढ्ने कीर्तिमान बनाइसकेकी थिइन् । उनले जापानको माउन्ट फुजी चढ्ने सबैभन्दा ज्येष्ठ महिलाको कीर्तिमान पनि बनाइन्, ९१ वर्षको उमेरमा । आफ्नो शान्दार पर्वतारोही जीवनमा उनले ९७ वटा पर्वतमा कदम राख्ने कीर्तिमान बनाइन् । उनी १ सय १ वर्षसम्म जीवित रहिन् । प्रायः भन्ने गर्थिन्, ‘मैले केही सोचेर पहाड चढेको होइन । मैले त खुला स्थानको खोज र आफ्नो शरीर र आत्माको निर्माणका लागि यस्तो गरेँ । उनले आफ्नो जिन्दगीमार्फत लाखौँ मानिसलाई पहाड चढ्ने कुनै उमेर हुँदैन भन्ने कुरा बुुझाइन् । शरीर त्यस्तो नै बन्छ, जस्तो मनले चाहन्छ । मन सुुदृढ होस्, असम्भव केही छैन । मानिस निमोनियाका रोगी १० वर्ष मात्र बाँच्छन् भन्ने पनि गर्दथे तर १८९६ मा जन्मिएकी हल्डा क्रुक्सलाई ५० नपुुग्दै निमोनिया लागेको थियो । यद्यपि १ सय १ वर्षसम्म बाँचेर (१९९७ मा मृत्युु) उनले त्यस धारणालाई गलत साबित गराइदिइन् । संसारले देख्यो, कुनै समय पहाडजस्तै कठिन बनेको जिन्दगीमा यस्तो जोश जागेको थियो कि पर्वतारोहण नै जिन्दगी बनिसकेको थियो । रातोपाटी बाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस